तपाईँ सुन्दै हुनुहुन्छः

संविधानसभाका अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिदै


काठमाण्डौ । संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदै छ ।
पशुपति आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय नेम्वाङको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो ।
नेपाली सेनाको टुकडीले स्वर्गीय नेम्वाङको सम्मानमा सलामी अर्पण गरेको थियो ।
यसैगरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओडाएर उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । सभामुख, देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा, उपसभामुख इन्दिरा राना, पूर्व सभामुख अग्नीप्रसाद सापकोटा, मन्त्रीहरु, सांसदहरु विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सुरक्षा निकायका अधिकारीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, आफन्त तथा सुभेच्छुकहरुले आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिनुभएको छ । स्वर्गीय नेम्वाङको दाहसस्कारमा सहभागी हुन पशुपति आर्यघाटमा सर्वसाधारणहरुको भिँड लागेको छ ।
यसअघि, स्वर्गीय नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा निकालिएको थियो ।
बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पु¥याइएको हो ।
७१ वर्षीय नेम्वाङको मंगलबार बिहान निधन भएको थियो । मंगलबार दिनभर र हिजो बुधबार दिउँसो १ बजेसम्म उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको थियो ।
त्यसपछि हिजो बुधबार दिउँसो बालुवाटारस्थित घरमा लगेर किरात संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।
नेम्वाङको निधनमा सरकारले आज सार्वजानिक विदा दिएको छ ।
सरकारले देशभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्त निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button