नेम्वाङको निधन कम्युनिष्ट आन्दोलनकै ठूलो पीडा : एमाले
काठमाडौँ । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको बताएको छ ।
कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले आज शोक वक्तव्य जारी गर्दै उहाँको अकल्पनीय, आकस्मिक र अत्यन्त दुःखद् निधनबाट पार्टी स्तब्ध र मर्माहत भएको बताउनुभएको छ । उहाँले नेम्वाङको असामयिक देहावसानले एमाले पार्टी पङ्क्तिका लागि मात्रै नभई नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै लागि ठूलो पीडा र क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

नेता नेम्वाङको आज बिहान १ः५० बजे उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । शोक वक्तव्यमा भनिएको छ, “उपाध्यक्ष नेम्वाङले राष्ट्र र जनताको हितमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कनसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ र उहाँको असल गुणहरूबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्प गर्दछौँ ।”
नेम्वाङ सामाजिक आर्थिक रूपान्तरणको अभियान तथा लोकतन्त्र, सामाजिक न्याय, संविधान र विधिको शासन तथा मानवअधिकारका पक्षमा अविचलित रूपमा उभिने नेताको रूपमा परिचित रहनुभएको कार्यवाहक महासचिव ज्ञवालीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेता ज्ञवालीले नेम्वाङले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा असाधारण योगदान गरेको भन्दै संविधान सभाका अध्यक्षका रूपमा नेपालको संविधान निर्माण गर्ने ऐतिहासिक संविधान सभाको दुई–दुई पटक नेतृत्व गर्दै संविधान निर्माण गर्न अग्रणी भूमिका खेल्नुभएका उहाँको योगदान नेपालको इतिहासमा अमिट रूपमा स्थापित गरेको उल्लेख गर्नुभएको छ ।
विसं २००९ फागुन २८ गते बुबा रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारी नेम्वाङको कोखबाट इलाम नगरपालिका–७ मा जन्मनुभएका नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । नेम्वाङले पुनः स्थापित प्रतिनिधिसभा (२०६३), अन्तरिम संविधान जारी भएपछि गठित व्यवस्थापिका संसद् (२०६३), संविधान सभाको निर्वाचनपछिको व्यवस्थापिका संसद् (२०६५) तथा २०७० गरेर चार पटक सभामुखको जिम्मेवारी अत्यन्त कुशलतापूर्वक बहन गर्नुभएको थियो ।
यस्तै २०४८ र २०५२ सालमा दुई पटकसम्म राष्ट्रियसभा सदस्य रहनुभएका उहाँ २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहनुभएको नेकपा (एमाले) को सरकारमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीका हैसियतमा उहाँले मुलुकमा कानूनी शासनको सुदृढीकरणका लागि अत्यन्त गहन भूमिका खेल्नुभएको थियो । “उहाँ जनतामाझ कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुराको पुष्टि उहाँ २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा सम्पन्न निर्वाचनमा इलामबाट निरन्तर विजयी भएको तथ्यबाट हुन्छ”, ज्ञवालीले जारी गर्नुभएको शोक वक्तव्यमा भनिएको छ ।
विसं २०५६ मा प्रतिनिधिसभा सदस्यको रूपमा इलामबाट पहिलो पटक निर्वाचित भई सार्वजनिक लेखा समितिको सभापतिका रूपमा उहाँले खेल्नुभएको भूमिका उल्लेखनीय छ । आदर्श स्कुल, इलाममा पढ्दैदेखि वामपन्थी आन्दोलनको प्रभावमा रहनुभएका उहाँले त्रिचन्द्र कलेजबाट आइएस्सी उत्तीर्ण गर्नुभयो । उहाँ महेन्द्र रत्न क्याम्पस, इलाममा बीए पढ्दै गर्दा अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति निर्वाचित हुनुभएको थियो । नेपाल ल क्याम्पस, काठमाडौँमा बीएल अध्ययन गर्दा सरकार विरुद्ध पर्चा छरेको आरोपमा राजकाज मुद्दामा सात महिनासम्म जेल जीवन बिताउनुभएको थियो ।
विसं २०४६ को संयुक्त जनआन्दोलन, २०६२/६३ मा शान्तिपूर्ण जनआन्दोलन लगायत विभिन्न आन्दोलनमा उहाँ पटक–पटक हिरासतमा पर्नुभएको थियो । विसं २०३३ असार ३ गते जेलमै रहँदा तत्कालीन अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन केन्द्रको पार्टी सदस्यता प्राप्त गर्नुभएका उहाँ २०४९ सालमा पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय न्यायिक समितिको सदस्यमा निर्वाचित हुनुभएको थियो ।
उहाँ छैटौँ महाधिवेशन (२०५४) र सातौँ महाधिवेशन (२०५९) बाट केन्द्रीय सदस्य, २०७२ सालमा पार्टी स्थायी कमिटी सदस्य र दशौँ राष्ट्रिय महाधिवेशन (२०७८) बाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । पार्टी निर्माण तथा विस्तारमा उहाँको योगदानको पार्टीले उच्च मूल्याङ्कन गर्ने नेता ज्ञवालीले बताउनुभयो ।
विसं २०३६ देखि नेपाल ल क्याम्पसमा प्राध्यापन सुरु गर्नुभएका उहाँले नेपाल बार एसोसिएसन केन्द्रीय सदस्य (२०४१) तथा महासचिव (२०४३) का रूपमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँ महासचिव रहेकै कार्यकालमा सम्पन्न नेपाल बार एशोसियसनको राष्ट्रिय सम्मेलनले देशमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था स्थापनाको प्रस्ताव पारित गरेको थियो ।
कलेज जीवनमा फुटबल टिमका क्याप्टेन समेत रहनुभएका नेम्वाङ बहुआयामिक व्यक्तित्वका धनी भएको नेता ज्ञवालीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्