सरकार घेराबन्दी पर्ला तर फाइल खोल्न छाडिन्न : मन्त्री गुरुङ
स्याङ्जा । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुशासन कायम गर्ने सन्दर्भमा सरकार पछाडि नहट्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस स्याङ्जाले आज स्याङ्जा सदरमुकाममा विपी कोइरालाको एक सय १० औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘विपी विचार गोष्ठी’ कार्यक्रममा उहाँले सुशासन कायम गराउने सन्दर्भमा कसैलाई पनि छाड्न नहुने पक्षमा आफू रहेको बताउनुभयो ।
“सुशासन कायम गर्ने क्रममा ठूला फाइलहरू खोल्दा सरकारलाई घेराबन्दी हुन पनि सक्छ”, उहाँले भन्नुभयो, “सुशासन कायम हुन्छ भने सरकार ढलेर केही फरक पर्दैन ।” कुनै पनि पार्टीको मुख नहेरी जो सुकै भए पनि भ्रष्टाचारीहरूलाई कानुनी कारबाहीमा ल्याउनैपर्छ भन्ने पक्षमा आफू सदैव उभिने उहाँको दाबी थियो । “भोलि सरकार रहला नरहला, म पदमा रहुँला नरहुँला त्यसले केही फरक पार्दैन”, उहाँले भन्नुभयो, “तर भ्रष्टाचारी भनेको भ्रष्टाचारी नै हो जो सुकै भए पनि कानुनी दायरामा ल्याउनै पर्छ भन्ने पक्षको अडानमा म रहन्छु ।”
कांग्रेसका केन्द्रीय उपसभापति समेत रहनुभएका मन्त्री गुरुङले बिपीले देखाएको मार्गदर्शनमा हिँड्न सके ठिक र हिँड्न नसक्नेहरू गलत हुने बताउनुभयो । “बिपीले देखाएको मार्गदर्शनलाई व्यवहारमा कार्यान्वयन गर्न नसके काम छैन”, उहाँले भन्नुभयो, “बोलेर भन्दा पनि कर्मबाट बिपीका मार्गदर्शनहरूलाई पछ्याउँदै हिँड्न सकेको खण्डमा सफलता प्राप्त हुन्छ ।”
प्रतिनिधिसभा सदस्य एवं कांग्रेस स्याङ्जा जिल्ला सभापति राजु थापाले आज पनि बिपीका सिद्धान्तहरू उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्