जति समय प्रधानमन्त्री हुन्छु राम्रो काम गरेर देखाउँछु : प्रधानमन्त्री प्रचण्ड

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले आफु जति समयसम्म प्रधानमन्त्री हुने हो त्यतिन्जेलसम्म राम्रो काम गरेर देखाउने बताउनु भएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा आइतबार चार दल सम्मिलित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्नु हुँदै उहाँले यस्तो बताउनु भएको हो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो–‘कति समय सम्म प्रधानमन्त्री हुन्छु भन्ने छैन । तै पनि जति समय बस्छु राम्रो काम गरेर देखाउँछु ।’ उहाँले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा अभियान चलाइएको र यो अभियानलाई निरन्तर रुपमा अगाडी बढाइने बताउनुभयो । यो अभियान केही व्यक्तिलाई मन नपरेको बताउँदै उहाँले भन्नुभयो– ‘यो अभियान कुशासन विरुद्ध हो, यो निरन्तर अगाडी बढ्छ ।’
उहाँले प्रधानमन्त्रीका विरुद्धमा खाली सर्वोच्चमा मुद्दा हालिरहने चलन बढेको समेत बताउनुभयो । अहिले पनि प्राप्त उपलब्धी र परिवर्तनलाई उल्टाउने चेष्टा गरिएको भन्दै उहाँले सबैखाले परिवर्तनको रक्षाका लागि अहिलेको मोर्चा बनेको बताउनुभयो । यो मोर्चा चार वटा पार्टीको मात्र नभएर देशका जनताको परिवर्तनको मोर्चा रहेको उहाँको भनाई थियो ।
उहाँले कम्युनिष्ट पार्टीहरू विभाजित हुन्छन् भन्ने सन्देश विरुद्ध कम्युनिष्ट पार्टीहरू पनि जुट्छन् भन्ने देखाउन पनि मोर्चाबन्दी गरिएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनले दक्षिण एशियामा धेरै प्रभाव पारेको, संयुक्त राष्ट्र सङ्घको बैठकमा नेपालको गरिबी, जलवायुले पारेको प्रभावका सम्बन्धमा कुरा उठाउने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्