नेपाल महिला चेम्बरद्वारा ‘ट्रेड सो तीज स्पेशल २०२३’ को आयोजना

काठमाडौँ I नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित नेपाल महिला चेम्बरद्वारा महिलाहरूको महान् चाड तीजलाई लक्षित गरी ट्रेड सो तीज स्पेशल २०२३ को आयोजना गरिएको छ ।
नेपाली महिला उद्यमीहरूद्वारा उत्पादन गरिएका विविध सामाग्रीहरूको प्रदर्शन तथा बिक्री प्रवर्द्धन, महिलाहरूमा उद्यमशीलताको विकास गर्ने हेतुले आयोजना गरिएको उक्त मेलाको समुद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले गर्नु भयो ।
अध्यक्ष मल्लले “नेपाल महिला चेम्बर महिलाहरूको सर्वागिंण विकासको लागि स्थापना गरिएको र यस मेलाले महिलाहरूको उद्यमशीलताको विकास तथा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरूमा महिलाहरूको सहभागितामा वृद्धि हुने” आशा व्यक्त गर्नु भयो ।
महिलाहरू आर्थिक रूपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउनु हुँदै अध्यक्ष मल्लले यस किसिमको रचनात्मक कार्यको लागि नेपाल महिला चेम्बरलाई धन्यवाद व्यक्त गर्नु भयो ।

सो अवसरमा लोकप्रिय गायिका रेखा शाह,नारी पत्रिकाका सम्पादक लक्ष्मी भण्डारी लगायत चेम्बरका वरिष्ठ उपाध्यक्ष श्री कमलेश कुमार अग्रवाल, उपाध्यक्ष श्री दीपक मल्होत्रा तथा श्री दीपक श्रेष्ठले मेलाको सफलताको कामना गर्दै शुभकामना मन्तव्य दिनु भएको थियो ।

नेपाल महिला चेम्बरका महासचिव तथा मेला संयोजक श्री लिमा अधिकारीले मेलामा २५ जना महिला उद्यमीहरू सहभागिता रहेको र आज सम्पन्न हुने उक्त एक दिने मेलामा साङ्गीतिक कार्यक्रम, फेसन सो नृत्य लगायतका कार्यक्रम समावेश भएको जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्