तपाईँ सुन्दै हुनुहुन्छः

मलंगवामा कर्फ्यु आदेश जारी

सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरिएको छ ।

शनिवार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी/बाबा पेट्रोल पम्प) मा लागु हुने गरी प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गर्नुभएको हो ।

शुक्रवार राती कृष्ण जन्माष्टमीको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्रमा झडप भएको थियो । स्थिति नियन्त्रण लिन प्रहरीले १६ सेल अश्रुग्याँस र एक राउन्ड हवाई फायर गरेको थियो ।

सोही विवाद सम्बन्धी विषयलाई लिएर साविक मलंगवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गा मुढा प्रहार गरी विरोध प्रदर्शन हुन थालेपछि सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै, स्थानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

कर्फ्यु शनिबार बेलुका ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कायम रहने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button