तपाईँ सुन्दै हुनुहुन्छः

सुस्तापारिको पीडा :  गाउँमा पढ्न स्कुल छैन, अन्त जान पुल  छैन 

नवलपरासी ।  हरेक जसो कुरामा  पिछडिएको सुस्तामा  शिक्षाको पहुँच झनै कष्टकर छ ।  नारायणी नदीले दुई भागमा विभाजन गरेको सुस्तालाई वारी र पारीका नाउँले चिनिन्छ। वारि सुस्ता र पारी सुस्ताको पीडा आफ्नै छ । पारी सुस्ता सुविधाका हिसाबले अत्यन्तै बिकट मानिन्छ।  सुस्ता पारीका नागरिक शिक्षा स्वास्थ्य र अन्य सामान्य आधारभूत सेवाबाटसमेत वञ्चित छन् । 

सुस्तापारि कक्षा ८ सम्म मात्र पढाइ हुन्छ। जसका लागी एउटा मात्र विद्यालय छ ।   आठ कक्षा भन्दा माथि अध्ययन  गर्नका लागि यहाँका विद्यार्थीहरू  वारि नेपाल आउनु पर्दछ । बारी सुस्तामा आउनका लागि  पुल निर्माण भइसकेको छैन । ज्यानको बाजी मारेर कठिन र जोखिमपूर्ण यात्रा गरेर र पढ्नु भन्दा यहाँका धेरै जसो विद्यार्थीले बीचमै पढाइ छोड्ने गरेका   छन् ।

सुस्ता गाउँपालिका वडा नम्बर ५ मा रहेको सुस्ता गाँउमा रहेको जनता दलित आधारभूत विद्यालयमा  कक्षा ८ सम्म मात्रै पठनपाठन हुन्छ।यही विद्यालयमा आधारभूत शिक्षा लिइसकेपछि  अधिकांश बालबालिका त्यसभन्दा माथि अध्ययन गर्न  बञ्चित भएका हुन् । 

गाँउमा पढ्ने अवस्था नहुँदा बिस्तारै कक्षा बढ्दै जाँदा बालबालिकाले पढाई पनि छाड्दै जान्छन् । जसका कारण कक्षा १ मा भर्ना दर उत्साहजनक भएपनि कक्षा ८ सम्म आई पुग्दा विद्यार्थी सङ्ख्या ह्वात्तै घट्ने गरेको शिक्षकहरूको भनाई छ।

विद्यालय नहुँदा केही अभिभावकले भने आफ्ना छोराछोरीलाई  ८ कक्षा उत्तीर्ण गरेपछि सिमावर्ती भारतीय बजारका विद्यालयमा पढाउँदै आएका छन् ।

छोराछोरीलाई इच्छा हुँदाहुँदै पनि पढाउन नपाएको भन्दै अभिभावकहरू सुस्तामै कम्तीमा कक्षा १२ सम्मको पठनपाठन गर्ने व्यवस्था मिलाइनु पर्ने बताउँछन्  ।

सुस्ताका स्थानीय मुन्सी हरिजनले एसइई समेत दिन नपाउने अवस्था रहेको बताउँदै कम्तीमा १२ कक्षासम्म सुस्ता गाउँमै पढ्ने व्यवस्था गर्नु पर्ने बताउनु भयो।

जनता दलित आधारभूत विद्यालयमा कक्षा ८ सम्म हाल ३ सय ६० जना विद्यार्थीले पढ्दै आएका छन् । ‘सुरुमा भर्ना दर उत्साहजनक नै देखिन्छ।  भौगोलिक विकटता कारण कक्षा आठ उत्तीर्ण गरेपछि अधिकांश बालबालिकाले पढाई छाड्छन् । जम्मा ५ प्रतिशत बालबालिकाले मात्रै विभिन्न ठाउँमा गई कक्षा आठ पछिको पठनपाठनलाई निरन्तरता दिने गरेको’ विद्यालयका सहायक प्रधानाध्यापक अरन्जेव खानको भनाई छ । ‘आर्थिक अवस्था कमजोर भएकाले अभिभावकले अन्त पठाएर पढाउने अवस्था पनि छैन,उपयुक्त विकल्प नहुँदा हजारौँ विद्यार्थी वञ्चित हुनुपरेको छ’, खानले भन्नू भयो । कक्षा आठसम्म सञ्चालनका लागि पनि विद्यालयमा शिक्षकदेखि हरेक कुराको अभाव रहेको उहाँको भनाई छ ।

अभिभावकले कक्षा थप गरी बालबालिकाले पढ्न पाउने अधिकारको सुनिश्चित गर्न माग गरिरहँदा सुस्ता गाउँपालिकाले भने पारी सुस्तामा कक्षा थप सम्बन्धमा कुनै योजना नभएको जनाएको छ । शिक्षा शाखाका चन्द्र बहादुर ठाडा मगरले भन्नुभयो, ‘त्यहाँ विद्यार्थीहरू माथिल्ला कक्षामा पुगेपछि विद्यालय नै आउँदैनन्, त्यसैले तत्कालै कक्षा थप गर्ने योजना छैन ।’ कक्षा आठसम्म सञ्चालनका लागि पनि शिक्षक अभावमा धौ–धौ भइरहेको मगरले बताउनुभयो । ‘४ जना शिक्षकको दरबन्दी छ २ जना गाउँपालिकाले थप गरी अध्यापन गराउँदै आएको अवस्था हो, अझै कक्षा थप गर्ने हो भने त कसरी धान्ने ?’ उहाँले भन्नुभयो ।

यता सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भने त्यहाँ २ सय ५६ घरधुरी मात्र भएकाले कक्षा ८ भन्दा माथि   विद्यालय चल्न सक्ने अवस्था नै नरहेको बताउनुभयो । ‘यद्यपि हामीले पनि त्यहाँ कक्षा ८ माथि पनि पठनपाठन हुनुपर्छ, पढ्न चाहने विद्यार्थीलाई गाउँमै सुविधा हुनुपर्छ भन्ने चाहाना हो’ उपाध्यायले भन्नू भयो । उहाँले सुस्ता हरेक कुराबाट बञ्चित रहेको बताउँदै पालिकाको एक्लो प्रयासले मात्रै धेरै कुरा सम्भव नभएको बताउनुभयो । ‘सुस्ताको अवस्था देशलाई मात्र होइन अन्तर्राष्ट्रिय समुदायलाई समेत थाहा छ तर संघीय सरकार र प्रदेश सरकार  सुस्ताका नागरिकले महसुस गर्न पाएनन्’ अध्यक्ष उपाध्यायले भन्नू भयो।

नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुलको काम पुरा भए सुस्ता गाउँका बालबालिका नारायणी वारी आएर पठनपाठन गर्न सक्ने स्थानीयहरू बताउँछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button