प्रधानमन्त्रीको चीन भ्रमणमा चीनसँगको व्यापार नाका खोल्ने विषयमा छलफल हुने

काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणको एजेण्डाबारे तयारी भइरहेको बताउनु भएको छ ।
प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आज बसेको बैठकमा मन्त्री साउदले भ्रमणको तयारी भइरहेका र अहिल्यै एजेन्डा टुङ्गो लागि नसकेको जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्री साउदले कोभिडका कारण बन्द भएको चीनसँगको व्यापार नाका र परम्परागत नाका खोल्ने र कृषि, ऊर्जा लगायतका विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणको बारेमा सबै मन्त्रालयका सचिवहरूलाई बोलाएर विभिन्न मन्त्रालयका एजेन्डाका बारेमा छलफल गरेको जानकारी गराउँदै पूर्व परराष्ट्र मन्त्री तथा पूर्व राजदूतसँग पनि छलफल भएको जानकारी दिनुभयो ।

चीनले हालै प्रकाशन गरेको नक्सामा नेपालले सन् २०२० को जुनमा प्रकाशन गरेको नयाँ नक्सा नसमेटिएको विषयमा परराष्ट्र मन्त्री साउदले कूटनैतिक नोट पठाउने काम भएको भने पनि अनौपचारिक रूपमा कुन तहमा कसरी पठाएको भन्ने औपचारिक रूपमा नभेटेको जानकारी गराउनु भयो ।
मन्त्री साउदले चिनियाँ राजदूतले बालेको विवादित विषयमा अध्ययन गरिरहेका भन्दै चीन र भारतसँग नेपालको मित्रवत् सम्बन्ध रहेको र नेपाल सबै अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने स्पष्ट समेत पार्नुभयो ।
बैठकमा सांसदहरुले प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा प्रधानमन्त्रीले समितिमा आएर जानकारी गराउनु पर्ने, नेपालको नक्सा जारी भएपछि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु नेपाल सरकारको दायित्व भएको, नेपालका लागि चीनका राजदूतले दिएको अभिव्यक्तिलाई नजरअन्दाज गरियो भने त्यसले थप असहजता सिर्जना हुनसक्ने लगायतका विषय उठाउनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्