मौलिकता जोगाउन कृष्ण जन्माष्टमीमा चितवनमा रोपाईंजात्रा

चितवन । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर नारायणी कला मन्दिरले भदौ २० गते नारायणगढमा रोपाइँ जात्रा गर्ने भएको छ । हराइरहेको मौलिकता र संस्कृतिको जगेर्ना गर्ने उद्देश्य सहित रोपाई जात्रा गर्न लागिएको हो । आइतबार कला मन्दिरमा पत्रकार सम्मेलन गरी जात्रा हुने जानकारी दिइएको छ ।
सो अवसरमा बोल्दै नेवारी संस्कृति संरक्षण र संवर्द्धन गर्नका लागि २०४८ सालदेखि नारायणगढ बजारमा रोपाई जात्रा गरिँदै आएको कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानले जानकारी दिनुभयो ।
रोपाई जात्राको मौलिकता जोगाउने र भावी पुस्तालाई हस्तान्तरण गर्न पनि रोपाई जात्रालाई निरन्तरता गर्न लागिएको प्रधानले बताउनु भयो ।
रोपाइँ जात्रा संयोजक हरिकुमार राजभण्डारीका अनुसार कृषि पेसामा आधारित नेपाली जनजीवनको सजिव चित्रण प्रस्तुत गरिने यो जात्रा नेपाली संस्कृतिको एउटा उत्कृष्ट प्रतिबिम्ब मानिन्छ । खेतमा रोपाइँ सकेर क्वाँटी खाइ जीवनलाई नयाँ स्फूर्ति दिई शारीरिक रूपमा समेत सक्षम भई भाद्र कृष्णाष्टमीको दिन आनन्दपूर्वक यो जात्रा मनाउने गरिएको राजभण्डारीले बताउनु भयो ।
‘मनोविनोदको लागि मात्रै नभएर यो जात्रालाई सामाजिक सहिष्णुता र भातृत्वभाव बढाउने सुन्दर अवसरमा रूपमा हामीले लिने गरेका छौँ, पूर्वअध्यक्ष प्रभातकुमार जोशीले भन्नुभयो, खासगरी नेवार जातिको व्यापारसँग पनि यो जात्रा जोडिएको छ । यो जात्राको दिन बाटोको छेउछाउमा बजार थाप्ने प्रचलन पनि रहेको छ ।’
जात्राका अवसरमा बिहान ८ बजे नारायणी कला मन्दिरमा ‘हो पाँचो हाे’ हुँदैछ । यसको अर्थ रोपाइँ जात्राको सूचना दिई जात्रामा सबैलाई आमन्त्रण गर्नु हो । त्यसपछि दिउँसो ३ बजे रोपाइँ जात्रा निकालिनेछ । नारायणी कला मन्दिरबाट निकालिएको जात्रा बालकुमारी स्कुल चोक, भृकुटीपथ, जेसीज चोक, मेनरोड, लीलाचोक, दियालो रोड, पोखरा बसपार्क, गणेशचोक, प्रगतिपथ, बालकुमारी चोक हुँदै कला मन्दिरमा आएर समापन हुने आयोजकले जानकारी दिएको छ ।
पञ्चेबाजाको धुनमा रोपाइँ गर्दै मनोरञ्जन गरिने रोपाइँ जात्रालाई जीवन्त राख्नु अहिलेका पुस्ताको धर्म र कर्तव्य रहेको नारायणी कला मन्दिरका अध्यक्ष सुविर श्रेष्ठले बताउनु भयो । २०१९ सालमा स्थापना भएको नारायणी कला मन्दिरले नेपाली कला, साहित्य र रङ्गमञ्च सँगसँगै यस्ता जात्रा, मेला, पर्वको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सक्रियताका साथ काम गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्