बिपी कोइराला ट्रस्टद्वारा पुरस्कार घोषणा
काठमाडौँ । जननायक बिपी कोइराला स्मृति ट्रस्टले यस वर्षको बिपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार र बिपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार घोषणा गरेको छ ।
ट्रस्टले बिपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार तथा सम्मान अन्तर्गत साहित्य सम्मान पुरस्कार–२०८० वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल (जनकपुर) र प्रजातन्त्र सेनानी सम्मान पुरस्कार–२०८० प्रजातन्त्र सेनानी डिल्लीरमण शर्मा (रुपन्देही) लाई प्रदान गर्ने निर्णय गरेको हो ।
साहित्य सम्मान पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ र प्रजातन्त्र सेनानी सम्मानको पुरस्कार ५१ हजार रुपैयाँको रहेको छ ।
ट्रष्टको पुरस्कार छनोट समितिका संयोजक डा धुव्रचन्द्र गौतमको संयोजकत्वमा ट्रस्टका महासचिव रामचन्द्र पोखरेल र डा ज्ञानु पाण्डेको सिफारिस समितिले उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
बिपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा यही भदौ २२ गते काठमाडौँमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मान तथा पुरस्कार प्रदान गर्नुहुने ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
यसैबीच, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा यही भदौ २४, २५ र २६ गते सम्पन्न हुने बिपी साहित्य महोत्सवको तयारीका लागि तयारी समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले महोत्सवको समग्र उद्देश्य, महत्त्व र विस्तृत कार्यक्रमका बारेमा जानकारी दिनुभएको र भोलि १८ गते दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी नगरमा पत्रकार सम्मेलनको आयोजना गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्