अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैन : अर्थमन्त्री डा महत
काभ्रे । अर्थमन्त्री डा प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारको लागि बजेट अभाव नहुने बताउनुभएको छ ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । “अरनिको राजमार्गको सडक छ लेनमा विस्तार भइरहेको कामलाई बजेट रोकिँदैन, चाँडै पूरा होस्, कुनै पनि कारण सो सडकलाई बजेट रोकिँदैन”, मन्त्री डा महतले भन्नुभयो ।
तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाख बजेट छ भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमीमा रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता गरिएको छ ।
यस्तै मन्त्री डा महतले अरनिको राजमार्ग अन्तर्गतकै कोदारी सडकखण्ड पुनःनिर्माणको बारेमा छिमेकी मुलुक चीनले चासो दिएको उल्लेख गर्दै उक्त सडक स्तरोन्नतिले काभ्रेपलान्चोक र सिन्धुपाल्चोकलाई व्यापार लगायत उत्पादनमूलक क्षेत्रमा वृद्धि गर्न मद्दत गर्ने बताउनुभयो ।
मन्त्री डा महतले हाल विदेशी मुद्राको सञ्चिति यथेष्ट भएकाले आयात निर्यातमा कुनै समस्या नभएको बताउनुभयो । उहाँले चालु आवमा प्रदेश र स्थानीय तहलाई पर्याप्त बजेट विनियोजन गर्न नसकेकोमा दुःख व्यक्त गर्दै संघीय सरकारले झैँ सबैमा बराबरी प्रतिशत घटाइएको उहाँको भनाइ थियो ।

मन्त्री डा महतले आउने समयमा अर्थतन्त्रले लय समात्नेमा विश्वास व्यक्त गर्दै निजी क्षेत्रले क्रियाशीलता बढाएकाले उक्त क्षेत्रलाई आगामी दिनमा सरकारले आत्मविश्वास दिलाउने काम गर्ने बताउनुभयो ।
सो कार्यक्रममा समितिका प्रमुख दीपक गौतमले आव २०८०/८१ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्