तपाईँ सुन्दै हुनुहुन्छः

तीज भड्किलो नबनाउन चितवन प्रशासनको आग्रह 

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आउँदै गरेको तीजलाई लक्षित गरी भड्किलो नबनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ । 

प्रशासनले एक सूचना जारी गर्दै आफ्नो संस्कृति, परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवर्द्धन गर्नेबाहेक अन्य खर्चिला एवं भड्किला कार्यक्रम नगर्न÷नगराउन अनुरोध गरेको हो  ।

नेपालीहरूको महान् चाड हरितालिका तीज नजिकिँदै गइरहेको सन्दर्भमा विगत केही वर्षयता तीज मनाउने नाममा तड्कभड्क सहितका खर्चिलो कार्यक्रमले विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुग्न गएको सूचनामा उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृतिबिना तीजको अवसरमा सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम सङ्कलन गर्ने उद्देश्यले मेला, महोत्सव आयोजना नगर्न अनुरोध गरिएको छ ।

साथै, सामाजिक शिष्टाचार, नैतिकता र अनुशासन कायम गर्ने कार्यमा जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, पेसागत सङ्घसंस्थाहरू, सञ्चारकर्मीहरू, महिला सञ्जाल तथा जिल्लावासीमा सहयोगको अपेक्षा गरिएको सूचनामा उल्लेख छ ।

सूचना विपरीत हुने गतिविधि तथा कार्यक्रमहरू नगर्न÷नगराउन अनुरोध गर्दै सूचनाको बर्खिलाप हुने गरी कार्य गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने सूचनामा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button