तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको चीन भ्रमणमा समेटिनुपर्ने विषयमा छलफल

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा पोखरा तथा गण्डकी प्रदेशका उठ्नुपर्ने विषयका सम्बन्धमा आज पोखरामा छलफल गरिएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घमा आयोजित छलफलमा वक्ताले प्रधानमन्त्रीको भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सीधा अन्तर्राष्ट्रिय उडान, कोरोला नाका सञ्चालन लगायतमा छलफल हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले सञ्चालनमा आएर पनि हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका सहरबाट सीधा उडान गर्ने विषयमा भ्रमणका क्रममा छलफल हुनुपर्ने बताउनुभयो । पोखरा विमानस्थलको हाल रहेको दुई हजार पाँच सय मिटरको धावन मार्गलाई थप पाँच सय मिटर बढाउने सम्बन्धमा पनि छलफल हुनु जरुरी रहेको उहाँले बताउनुभयो ।

नेपाल चीनबीचको कोरोला नाका सञ्चालनमा ल्याउने विषय पनि भ्रमणका क्रममा प्राथमिकतामा पर्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

पोखरालाई पर्यटकीय गन्तव्यका लागि सूचीकृत गर्नुपर्ने, पोखरामा महावाणिज्य दूतावास स्थापना गर्नुपर्ने, प्रविधिको हस्तान्तरण लगायतका विषयलाई पनि प्राथमिकतामा राख्न सकिने उहाँले बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान, कोरोला नाका सञ्चालनका साथै हङकङ लगायतका सहरबाट पोखरामा सीधा उडानका विषय नै भ्रमणमा उठ्नुपर्ने प्रमुख विषय रहेको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कसरी अन्तर्राष्ट्रिय उडान गर्न सकिन्छ भन्ने कुरा नै अहिलेको पहिलो आवश्यकता भएको बताउनुभयो ।

वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, मनि चेन्जर एसोसिएसन पोखराका अध्यक्ष रूपक मिश्र, माइकल कर्माचार्य लगायतले सङ्कटमा परेको पोखराको पर्यटनलाई बचाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । प्राथमिकता तय गरी प्रधानमन्त्रीको भारत भ्रमणमा उठ्नुपर्ने विषयका रूपमा लिपिबद्ध गरिने उक्त अवसरमा जानकारी गराइयो ।

यही भदौ १५ गते एक कार्यक्रमका सन्दर्भमा पोखरा आउन लाग्नुभएका प्रधानमन्त्री दाहाललाई यस विषयमा भेटेर प्राथमिकताका विषयबारे अनुरोध गरिने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button