विषयगत समितिका नवनिर्वाचित सभापतिहरूद्वारा पद तथा गोपनीयताको सपथ
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका १० वटै विषयगत समितिका सभापति आज निर्विरोध निर्वाचित हुनुभएको छ ।
प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरण कुमार शाह निर्विरोध निर्वाचित हुनुभयो ।

यसैगरी कानून न्याय तथा मानव अधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदी र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकिकृत समाजवादीका सांसद भानुभक्त जोशी निर्विरोध निर्वाचित हुनुभयो ।

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा राज्य व्यवस्था तथा सुशासन समिति, सन्तोष चालिसे अर्थ समिति र आरजु राणा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्विरोध निर्वाचित हुनुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादव र पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंह निर्विरोध निर्वाचित हुनभयो ।
यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खान निर्विरोध निर्वाचित हुनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमतका सांसद खान सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
समितिका नवनिर्वाचित सभापतिहरूले आजै पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

नवनिर्वाचित सभापतिहरूलाई सभामुख देवराज घिमिरेले संघीय संसद् सचिवालय सिंहदरबारमा पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्