तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले स्वास्थ्य क्षेत्रमा सुधारको प्रयासका साथ काम गरिरहेको छ : मन्त्री बस्नेत 

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारले स्वास्थ्य क्षेत्रमा सुधारको प्रयासका साथ काम गरिरहेको बताउनुभएको छ । 

भक्तपुर दुधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आज स्थलगत अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्र सरकारको उच्च प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा केही परिवर्तन ल्याउने दृढताका साथ आफूले काम गरिरहेको बताउनुभयो ।

मन्त्री बस्नेतले केन्द्रले स्वास्थ्य तथा अङ्ग प्रत्यारोपणका क्षेत्रमा गरिरहेको काम उल्लेखनीय र सराहनीय रहेको भन्दै यहाँ रहेको स्थान अभावको समस्यालाई मध्यनजर गर्दै भवन निर्माणका लागि जग्गा खोजी गर्न जतिसक्दो चाँडो पहल गर्ने बताउनुभयो ।

उहाँले मिर्गौला प्रत्यारोपण, डायलोसिस, कलेजो प्रत्यारोपण लगायतका प्रभावकारी काम गर्दै आएको यस केन्द्रलाई राज्यको थप सहयोगको आवश्यकता देखिएको बताउनुभयो ।

मन्त्री बस्नेतले केन्द्रको समग्र अवस्था र केन्द्रले प्रवाह गरेको सेवाका बारेमा जानकारी लिँदै जनताका लागि अझै सहज र गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । मन्त्री बस्नेतले बिरामीबाट आएको समस्या समाधानका लागि आफू लाग्ने बताउनुभयो ।

अनुगमनपछि केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले केन्द्रको भौतिक संरचनाको विकास र सेवा विस्तारको लागि पायक पर्ने स्थानमा आवश्यक जग्गा उपलब्ध गराउन पहल गरिदिन मन्त्री बस्नेतसमक्ष आग्रह गर्नुभयो ।

निर्देशक श्रेष्ठले अस्पताल सुरु भएको १० वर्षको अन्तरालमा एक हजार १०६ जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको र त्यसमा ९९ प्रतिशत प्रत्यारोपण सफल भएको मन्त्री बस्नेतलाई जानकारी गराउनुभयो ।

उहाँले यदि मस्तिष्क मृत्यु पश्चात् हुने अङ्ग दानबाट प्रत्यारोपण हुन सकेमा बिरामीको खर्च कम हुनका साथै जीवित व्यक्तिबाट अङ्ग झिक्न नपर्दा उसको स्वास्थ्यमा आउन सक्ने समस्या नरहने बताउनुभयो ।

नेपालमा बर्सेनि करिब तीन हजार जनाको मिर्गौला फेल हुने गरेको र उनीहरू मध्ये केहीको अङ्ग नपाएर अकालमा मृत्यु हुने गरेको निर्देशक डा.श्रेष्ठले बताउनुभयो

निर्देशक डा.श्रेष्ठले विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको सन्दर्भमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउन पर्ने आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले केन्द्रले दिँदै आएको सेवा, समग्र अवस्था ,सम्भावना र समस्याका बारेमा मन्त्री बस्नेतलाई जानकारी गराउनुभयो ।

मन्त्री बस्नेतले अनुगमनको क्रममा केन्द्रले सेवा प्रवाह गर्दै आएको आकस्मिक सेवा, ओपिडी, ल्याब, डायलोसिस सेवा, अपरेसन वार्ड, क्याथल्याब, पोष्ट अपरेटिभ वार्ड लगायतका वार्डहरूको अनुगमन गर्दै बिरामीहरूसँग सेवाका बारेमा जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button