नेपालगन्ज उपमहानगरमा प्रभावकारी बन्दै नि:शुल्क एम्बुलेन्स सेवा
नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले गत साउन १ गतेदेखि सुरु गरेको निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बन्दै गएको छ । नि:शुल्क एम्बुलेन्स सेवाबाट लाभ लिने विपन्न र गरिबहरू दिनदिनै बढ्दै गएका छन् ।
विशेषगरी विपन्न र गरिबहरूका लागि सुरु गरिएको निःशुल्क एम्बुलेन्स सेवाबाट आवश्यक परेको बेला सबैले लाभ पाइरहेको उपमहानगरपालिकाले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राईले एक महिनाको अवधिमा ५० जना भन्दा बढी विपन्न र गरिबले अति आवश्यक परेको बेला निःशुल्क एम्बुलेन्स सेवा लिएको बताउनुभयो ।
उहाँले एम्बुलेन्स सेवा सुरु गरिएपछि विपन्न र गरिबलाई आपतकालीन अवस्थामा अस्पताल पुग्न निकै सहज भएकोले यहाँ यो सेवा निकै प्रभावकारी बन्दै गएको बताउनुभयो । उपप्रमुख राईले भन्नुभयो, “नगरभित्र मात्रै होइन कोही असाध्यै गरिब र असहायले अनुरोध गर्दा नगर बाहिरसम्म पनि सेवा दिने गरेका छौँ ।” निःशुल्क एम्बुलेन्स सेवा २४ सै घण्टा सञ्चालनमा रहेको उपमहानगरपालिकाले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले गत साउन १ गतेबाट बाँकेमै पहिलो पटक २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको थियो । नेपालगन्ज उपमहानगरपालिकाका अनुसार गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरदेखि अस्पतालसम्म पुर्याउन सुरु गरिएको सो सेवाबाट धेरै जना लाभान्वित भइरहेका छन् ।
नेपालगन्ज-१ धम्बोझीका सुरेश गुप्ताले पैसा नभएको र आपत् परेको बेला उपमहानगरको निःशुल्क एम्बुलेन्स सहयोग पाउँदा बिरामीको ज्यान जोगिएको बताउनुभयो । उहाँले यस्तो सेवालाई जिल्लाका सबै पालिकाले सुरु गर्नुपर्ने पनि दिनुभयो । यस्तै नेपालगन्ज-४ सल्यानीबागका इरफान शेषले पहिलोपटक निःशुल्क र समयमै एम्बुलेन्स सेवा पाउँदा आफ्नो गर्भवती पत्नीले समयमै उपचार पाएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्