बाँके युनेस्कोद्वारा अपाङ्गता भएका ३० जनालाई ट्राई साइकल वितरण
बाँके। बाँकेका ६ वटा पालिकाका अपाङ्गता तथा फरक क्षमता भएका ३० जनालाई बाँके युनेस्को क्लबले नेपालगन्जमा ट्राई साइकल (तीन पाङ्ग्रे हाते साइकल) वितरण गरेको छ ।

कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले नेपाल एकीकृत बिकास परियोजना अन्तर्गत आइतबार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई ट्राई साइकल वितरण गरेको हो । सो परियोजना अन्तरगत जिल्लाका ३० जना अपाङ्गता तथा फरक क्षमता भएका महिला र पुरुषलाई ट्राई साइकल वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री मोहम्मद इश्तियाक राई, क्लबका प्रमुख संरक्षक प्रबेजअलि सिद्दिकी र अध्यक्ष तुलाधरले संयुक्त रुपमा अपाङ्गता तथा फरक क्षमता भएकाहरूलाई हाते साइकल हस्तान्तरण गर्नुभयो । सो अवसरमा पूर्व मन्त्री राईले यो सहयोग अति नै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यस्तो सहयोगले अपाङ्गता भएका व्यक्तिहरूको दिनचर्यालाई सहज बनाउनुका साथै यसको प्रयोगले आत्मबल समेत बढाउने बताउनुभयो ।
परियोजनाकी संयोजक विनीता आरसीले नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकाका अपाङ्गता तथा फरक क्षमता भएका महिला पुरुषको छनोट गरेर ट्राई साइकल सहयोग गरिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्