तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा अन्तर्गतका समिति सभापतिको मनोनयन दर्ता सम्पन्न (फोटोफिचर)

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिको नेतृत्व चयनका लागि मनोनयन दर्ता भएको छ ।  

सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरण कुमार शाहले मनोनयन दर्ता गराउनु भएको छ ।

यसैगरी कानुन न्याय तथा मानव अधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदी र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकिकृत समाजवादीका सांसद भानुभक्त जोशीले मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा राज्य व्यवस्था तथा सुशासन समिति, सन्तोष चालिसे अर्थ समिति र आरजु राणाले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा मनोनयन दर्ता गराउनुभएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको सभापतिका लागि मनोनयन दर्ता गराउनु भएको छ ।  

यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले मनोनयन दर्ता गराउनुभएको छ ।

समितिको सभापति चयनका लागि आज बिहान ११ः०० देखि अपराह्न ४ः०० बजेसम्म संघीय संसद् सचिवालय सिंहदरबारमा उम्मेदवारी मनोनयन प्रस्ताव दर्ताको समय तोकिएको छ ।

निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार आजै अपराह्न ४ः३० बजे सूची प्रकाशन गर्ने कार्य तालिका रहेको छ । 

समिति सभापतिको निर्वाचन भोली दिउसो ३ सम्बन्धित समितिको सभा कक्षमा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button