कैलालीमा लम्पी स्किनबाट २७५ पशु मरे

टीकापुर कैलाली । कैलालीमा लम्पी स्किन रोगको सङ्क्रमणबाट २७५ ओटा पशु मरेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कैलालीको तथ्याङ्क अनुसार कैलालीमा सबै भन्दा बढी ११६ ओटा बाच्छचाच्छी मरेका छन् । अहिलेसम्म गाई ९६, गोरु ४५ र भैँसी ८ ओटा मरेका छन् ।
कैलालीमा लम्पी स्किनबाट मृत्यु हुने दर पशुमा ४ प्रतिशत र संक्रमण फैलिने दर १० प्रतिशत रहेको छ । जिल्लामा अहिलेसम्म २५ हजार ७८५ पशु लम्पी स्किनबाट सङ्क्रमित भएका भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कैलालीका प्रमुख हेमराज अवस्थिले जानकारी दिनुभयो ।
संक्रमित मध्ये गाई ८ हजार २२५, बाच्छाबाच्छी ७ हजार ५६०, भैँसी ५ हजार ४४० र गोरु ४ हजार ५६० रहेका छन् । २५ हजार बढी पशुमा रोग फैलिसक्दा पनि करिब ६ हजार पशुमा मात्र खोप लगाएको देखिन्छ ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कैलालीका प्रमुख अवस्थिका अनुसार जिल्लामा अहिलेसम्म ५ हजार ८८५ पशुमा मात्र खोप लगाइएको छ । खोपको उपलब्धता कम भएका कारण संक्रमित सबै पशुमा खोप लगाउन नसकिएको प्रमुख अवस्थिको भनाई छ ।
यो एउटा महामारीका रुपमा रहेकाले पशुपालक किसानहरू निकै आक्रान्त बनिरहेका छन् । यतिवेला गाई, भैँसी ब्याउने र दूध बढी आउने समयमा गाई, भैँसी मर्न थालेपछि पशुपालक किसानको पशु धनमा ठूलो क्षति भइरहेको छ ।
अहिलेसम्मको अवस्था हेर्दा कैलाली जिल्लामा करिब एक करोड बढीको पशु धनमा क्षति पुगेको केन्द्रले जनाएको छ । यसको रोकथाम खोप नै भएकाले सरकारले पर्याप्त मात्रामा खोप खरिद गरेर सबै पशुलाई खोप लगाउन सके किसानका पशुहरू जोगाउन सकिने नभए यो एउटा महामारीका रुपमा देखिएको रोग भएकाले रोकथाममा ठूलो समस्या हुने देखिएको छ ।
यसको रोकथामको लागि कैलालीका १३ ओटै पालिकामा उपचारको प्रोटोकलको सर्कुलर गरिएको र त्यही अनुसार सबैले काम गरेपछि रोग नियन्त्रण गर्न केही सहज हुने प्रमुख अवस्थिते बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्