तपाईँ सुन्दै हुनुहुन्छः

बाँके जिल्लाका सबै पालिकामा स्थानीय पाठ्यपुस्तक “मेरो नेपालगन्ज” को निर्माण प्रक्रिया सुरु

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गरेको ‘मेरो नेपालगन्ज’ पाठ्यक्रमको पुस्तक छपाइको प्रक्रिया अघि बढेको छ ।

उपमहानगरपालिको आफ्नै पाठ्यपुस्तकको पुस्तक नहुँदा विद्यार्थीहरू बिना पुस्तक पढ्न बाध्य भएका थिए । अब भने चालू आर्थिक वर्षभित्रै पुस्तक विद्यार्थीहरूको हातहातमा पुर्‍याउने गरी प्रक्रिया अघि बढाएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत रिजालका अनुसार, पाठ्यपुस्तक लेखनका लागि मङ्गलवार प्रस्ताव आह्वान गरिएको छ । कक्षा १ देखि कक्षा ८ सम्म पाठ्यपुस्तक लेखन, सम्पादन, चित्र निर्माण जस्ता कामहरूका लागि प्रस्ताव आह्वान गरिएको हो । भदौ १२ गतेसम्म प्रस्ताव पेश गर्ने अन्तिम समय सीमा कायम गरिएको रिजालले जानकारी दिनुभएको छ।

नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जको सामाजिक, आर्थिक एवं ऐतिहासिक पक्षको जानकारी दिने विषयलाई पाठ्यक्रममा समावेश गरेको छ । उक्त पाठ्यक्रम नेपालगन्ज उपमहानगरपालिकाका सबै विद्यालयमा पढाइरहेको छ ।

पुस्तक बिना नै पढाइ गरेका विद्यार्थीले प्रथम त्रैमासिकको परीक्षा समेत दिइसकेका छन् । तर अब पाठ्यपुस्तकको निर्माणको कामको सुरुवात भएकाले चाँडै विद्यार्थीको हातमा पुग्ने प्रमुख प्रशासकीय अधिकृत रिजालले बताउनु भयो । 

बाँके जिल्लामा आठ वटै स्थानीय तहले छुट्टाछुट्टै पाठ्यपुस्तक निकाली सकेका छन् । कोहलपुर नगरपालिकामा पनि हाम्रो कोहलपुर नामक पाठ्यपुस्तक सरकारी तथा निजी विद्यालयमा सुरुवात भइसकेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button