तपाईँ सुन्दै हुनुहुन्छः

पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौरा पर्व, २०८० को अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।

शुभकामना सन्देश दिँदै अध्यक्ष तिमिल्सिनाले गौरा पर्वको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विविधता भएको हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको बताउनुभएको छ ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म विशेष गरी नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व एक महत्त्वपूर्ण सांस्कृतिक चाड हो । यस पर्वको अवसरमा शिव र पार्वती अर्थात् गौराको पूजा आराधना गरी व्रत बस्नाले मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख‚ शान्ति र सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ ।

गौरा पर्व मनाउने सन्दर्भमा परदेश गएकाहरू घर फर्कने‚ विवाहिता महिलाहरू माइत जाने‚ गहुँ‚ केराउ, गहत लगायत पाँच प्रकारका अन्नहरूको मिश्रणबाट बनेको ‘बिरुँडा’ लाई प्रसादको रूपमा ग्रहण गरी देउडा‚ धमारी र ढुस्को खेल्दै रमाइलो गर्ने प्रचलन रहेको छ ।

अध्यक्ष तिमिल्सिनाले यस पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम‚ विश्वास र सद्भावलाई प्रगाढ बनाउनुका साथै विविध जातजाति¸ भाषा भाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीहरू बीचको भावनात्मक एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ भन्नुभएको छ ।

“लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विविधता भएको हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको छ”, शुभकामना सन्देशमा भनिएको छ, “हरेक, भूगोल, जातजातिका मौलिक संस्कृतिहरूको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास‚ विभेद‚ विकृति एवं विसंगतिहरुलाई अन्त्य गरी सभ्य‚ सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button