तपाईँ सुन्दै हुनुहुन्छः

बैङ्क खाता रोक्का गरेपछि विद्यालयहरूमा तहगत प्रधानाध्यापक नियुक्त

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले बैङ्क खाता रोक्का गरेपछि विद्यालयहरूले तहगत प्रधानाध्यापक नियुक्त भएका छन् । तहगत प्रधानाध्यापक नियुक्तिका लागि नगरपालिकाले दिएको निर्देशन अटेर गरेपछि बैङ्क खाता रोक्का गरिएको थियो ।

नगरपालिकाका अनुसार तहगत प्रधानाध्यापक नियुक्तिका लागि आलटाल गर्ने ४ विद्यालयका बैङ्क खाता रोक्का गरिएका थिए । बैङ्क खाता रोक्का गर्न अघि नै तीन विद्यालय प्रधानाध्यापक नियुक्त गरी खाता रोक्काबाट जोगिएका थिए ।

खाता रोक्का भएर विद्यालयहरूलाई कारोबार गर्न समस्या भएपछि प्रधानाध्यापकहरू नगरपालिका आएर तहगत प्रधानाध्यापक नियुक्तिका लागि तयार भएका थिए । अहिले प्रधानाध्यापक नियुक्त गरिएपछि विद्यालयका खाता फुकुवा गरिएका छन् ।

प्रधानाध्यापकले बैठक बोलाउन नमानेपछि नगरपालिकाले ती विद्यालयको बैङ्क खाता रोक्का गर्ने निर्णय गरेको थियो । तहगत प्रधानाध्यापक नियुक्तिका लागि विद्यालयलाई दबाब दिन नगरपालिकाले अन्तिम विकल्पका रुपमा खाता रोक्का निर्णय गरेको थियो ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले कार्यालयबाट पटक पटक दिइएका निर्देशन नमानेपछि बैङ्क खाता रोक्का गर्ने निर्णय गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button