तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रक्रिया मिचेर गरिने निर्णयले लोकतन्त्र कमजोर बनाउँछ’

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सत्ता प्राप्तिका लागि विधि र प्रक्रिया मिचेर गरिने निर्णयले लोकतन्त्र कमजोर बनाउने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चार कर्मीहरूसँग कुरा गर्दै उहाँले कोशी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिने विषयमा केही त्रुटि भएको र यस्ता विषयमा अदालतले निर्णय गर्ने बताउनुभयो । नेपाली कांग्रेस विधिको शासन मान्ने पार्टी भएकाले अदालतले गर्ने निर्णय काँग्रेसले स्वीकार गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

कोशी प्रदेश सभामा भदौ ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा बैठकको अध्यक्षता गर्नुहुने सदस्यले मतदान गर्नुभएको थियो ।

एक प्रश्नमा उहाँले राष्ट्रपतिबाट अवरुद्ध संसद् खुलाउन सर्वदलीय बैठकको आव्हान भएको बताउँदै राष्ट्रपति मुलुकको सर्वोच्च निकाय भएकाले एक महिनादेखि अवरुद्ध संसद् सुचारु गर्न सर्वदलीय बैठक राख्दैमा राष्ट्रपति सक्रिय भएको भन्न नमिल्ने बताउनुभयो ।

उहाँले प्रहरीहरूको सरुवा एउटा प्रक्रिया भएको तर चार महिना अनुसन्धानमा खटिएका प्रहरीको सरुवा गरिनुले अनुसन्धान प्रक्रिया फितलो हुने बताउनुभयो ।

उहाँले वर्तमान अवस्थामा काँग्रेसले गठबन्धन सरकार छोड्ने कुनै निर्णय नगरेको तर सरकारको कार्यशैलीप्रति आफु सन्तुष्ट नरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button