तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री र राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरुबीच छलफल शुरु

काठमाडौँ । संघीय संसदमा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूबीचको छलफल शुरु भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री प्रचण्डले बोलाउनु भएको  बैठकमा, संसद्को गतिरोध अन्त्य, मुलुकमा देखापरेको पछिल्ला समस्याका साथै समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

गत साउन १० गतेदेखि सघीय संसद्का दुवै सदनको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले अवरोध गर्दै आएको छ । 

प्रधानमन्त्रीले आह्वान गर्नुभएको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई आमन्त्रण गरिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा घेरा छलेर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको पछि सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ । 

सरकार र सत्ता गठबन्धनमा आबद्ध रहेका दलले उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानबिन गर्ने बताउँदै आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button