संसद् अवरोध खुलाउने विषयमा सहमति जुटेन

काठमाडौँ I सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकसँग संसद् अवरोध खुलाउने विषयमा छलफल गर्नुभएको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको छलफलमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकहरूले आ–आफ्नो अडान कायमै राखेपछि संसद् खोल्ने विषयमा सहमति भने जुट्न सकेन ।
बैठकमा प्रमुख प्रतिपक्षी दलका सचेतकले संसद् अवरोधलाई थप सशक्त बनाउने र सत्तापक्षले पनि आफ्नो अडान कायमै राखेपछि बैठक निष्कर्षविहीन बनेको राष्ट्रिय स्वतन्त्र पाटीका सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।
बैठकमा रास्वपाका तर्फबाट आफूले आफ्ना विमतिहरू भए सदनमै छलफल गर्न र संसद् अवरोध अन्त्य गर्न आग्रह गरेको रास्वपाका सचेतक परियारले बताउनुभयो ।
बैठकमा सत्तापक्षबाट नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक लगायतको सहभागी थियो ।
प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । सदनको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि आजै राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग छलफल गर्दैहुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्