नाति-नातिनीसँगै ६ कक्षामा पढ्दै ६१ वर्षीया आमा

बाँके । प्रेम कुमारी गिरी अहिले ६१ वर्षको हुनुभयो । जीवनका ६ दशक बिताउनुभएकी गिरी छ सन्तानकी आमा हुनुहुन्छ । आफ्ना सबै सन्तानलाई उच्च शिक्षा दिलाइरहनुभएकी गिरी यत्तिखेर कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ ।
बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको ज्ञान ज्योति माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत गिरी कोहलपुर नगरपालिका वडा नं. ५ की स्थानीय बासिन्दा हुनुहुन्छ ।

‘इच्छा शक्ति हुने हो भने पढाइलाई न समयले छेक्छ न त उमेरले’ भन्ने गतिलो उदाहरण बन्नु भएकी गिरी हरेक व्यक्तिले शिक्षा अनिवार्य लिनुपर्ने र पढाई भन्दा अरू केही नभएको जिकिर गर्नुहुन्छ ।
गिरीका छोराछोरी आ–आफ्नो ब्यापार व्यवसायमा सक्रिय हुनुहुन्छ । उहाँकी कान्छी छोरी उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियामा हुनुहुन्छ ।
गिरीले आफ्ना नातिनातिनासँग पढ्न पाउँदा र छोराहरूले मलाई सिकाउँदा आफू निकै खुसी भएको बताउनु भयो।
यसैबीच उहाँलाई कोहलपुर नगरपालिकाले सम्मान गरेको छ । ‘विद्यार्थीसँग मेयर कार्यक्रम’ मा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले ६१ वर्षिया गिरीलाई सम्मान गर्नुभएको हो ।

कोहलपुरमा सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर वृद्धि भएको र आफूले सिक्न उत्साहित भएको भन्दै नगर प्रमुख आचार्यलाई गिरीले धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदी, विद्यालयका प्रअ, विव्यस अध्यक्ष, वडा अध्यक्ष लगायत विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्