तपाईँ सुन्दै हुनुहुन्छः

श्रमिकहरू इतिहासका निर्माता र मुलुक समृद्धिका आधार हुन : प्रधानमन्त्री

काठमाडौँ । अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा योजनाको आजदेखि शुभारम्भ गरिएको छ ।

सामाजिक सुरक्षा कोषले आज काठमाडौँमा आयोजना गरेको सो योजनाको शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमिकहरू इतिहासका निर्माता र मुलुकको समृद्धिका आधार भएको बताउनुभयो । 

उहाँले अव नेपालमा सामाजिक सुरक्षाको दायरबाट कोही पनि श्रमिक बाहिर  नरहने र सरकारका  सबै कर्मचारीलाई समेत यो योजनामा आबद्ध गराउने प्रतिबद्धता जनाउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले अनौपचारिक क्षेत्रका ४० देखि ५० लाख श्रमिकलाई सो योजनामा समावेश गर्ने योजना रहेको बताउनुहुँदै देशभित्र र बाहिर रहेका श्रमिकहरूको हित र आत्मसम्मानका लागि सरकार सधैँ  संवेदनशील रहेको बताउनुभयो । 

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले मुलुकको आन्तरिक श्रम बजारका सबै श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन ल्याइएको सामाजिक सुरक्षा योजनाले नेपाली श्रमिकहरूको नेपालमै संरक्षण गर्ने बताउनुभयो  । 

मन्त्री भण्डारीले अनौपचारिक क्षेत्र र स्वरोजगारमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा योजनामा श्रमिकहरू आबद्ध भएपछि मुलुकको विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले स्वरोजगारमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा योजना कार्यान्वयन गराउन सरकारको तर्फबाट सक्दो सहयोग रहने बताउनुभयो । 

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कृष्ण ज्ञवालीले अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकहरूका लागि औषधी उपचार, दुर्घटना वृद्ध अवस्थाको सुरक्षा योजना कार्यान्वयनमा आउने जानकारी दिनुभयो ।

नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले उद्योगी व्यवसायी  पनि  सामाजिक सुरक्षा कोषमा आबद्ध हुन चाहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button