तपाईँ सुन्दै हुनुहुन्छः

भुटानी शरणार्थी प्रकरण : थप १८ जनाद्वारा जाहेरी दर्ता

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको घटनाका थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् ।

उनीहरूले रु एक करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी भएको भनी तीन वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसअघि एक सय १५ जना व्यक्तिले जाहेरी दिएका थिए ।

कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सानु भण्डारी, केशव दुलाल समेतको संयुक्त मिलेमतोमा आफूहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौँ लगायतका जिल्लाका १८ जना पीडितले जाहेरी दिएका बताउनुभयो ।

उनीहरूले दिएको सक्कल जाहेरी दरखास्त लगायतका कागजातहरू आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

उक्त प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्बनमा परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायत १८ जना पक्राउ परेका छन् । उनीहरूमध्ये अधिकांश पुर्पक्षका लागि थुनामा छन् ।

शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरूविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, राज्य विरुद्धको र एकीकृत कसुर समेत गरेकाले सोहीअनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो ।

त्यसमाथि सार्वजनिक ओहदामा बसेका व्यक्तिको हकमा थप ३ वर्ष सजाय हुनसक्छ । कैदका साथै रु २८ करोड ८१ लाख बिगो समेतको माग गरिएको छ । केही आरोपी अझै फरार छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button