तपाईँ सुन्दै हुनुहुन्छः

‘समाज बनाउन सबैको हात हुन्छ’

सल्यान । सल्यान श्रीनगर सदरमुकाम खलङ्गा सडकखण्डमा अटो रिक्सा चलाउने पहिलो महिला हुनुहुन्छ मिना पुन । हालसम्म सल्यानमा अटो चलाउने उहाँ एक मात्र महिला ।

अटो चलाउन थालेपछि मिनाको दैनिकी फेरिएको छ । बिहानको घरधन्दा सकेर हतार हतार अटो लिएर बजार निस्किनु उहाँको पछिल्लो दैनिकी बनेको छ । उहाँले परम्परागत सोचाइको अन्त्य गर्दै जिल्लामै पहिलो अटो चालक भएर आफ्नो जीविकोपार्जन गर्दै आइरहनुभएको छ ।

महिलाहरूले सवारी साधन चलाउने काम गर्नुहुँदैन भन्ने परम्परागत सोचलाई परिवर्तन गर्न र आर्थिक उपार्जनका लागि अटो चलाउनुपरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘सुरुमा त आफैलाई पनि अटो चलाउन सकिन्न की जस्तो लागेको थियो । गाउँघर समाजले के भन्लान् भन्ने पनि सोच आएको थियो । तर समाज भन्दा आर्थिक रुपमा म सबल हुनुपर्छ भन्ने सोच आएपछि हिम्मत गरेर अटो चलाउन थालेकी हुँ ।’

पुनको माइती सल्यान शारदा नगरपालिका १० पैयाखर्क हो भने घर रोल्पा परिवर्तन गाउँपालिका ५ रांकोट हो । तर, श्रीमानले अर्की विवाह गरे भारततिर लागेपछि १ छोरा र २ छोरीको लालनपालन देखि शिक्षादीक्षा दिनेसम्मको जिम्मेवारी मिनाको काँधमा आयो । छोराछोरीलाई हुर्काउन र पढाउनका लागि पनि बाध्य भएर अटो चलाउन थालेको उहाँको भनाई छ ।

३ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया समेत पुग्नुभएको छ मिना । तीन वर्षको अवधिमा कमाएको पैसाले श्रीमानले लगाएको ऋण र आफू मलेसिया जाँदाको ऋण तिरको उहाँको अनुभव छ । विदेशमा पसिना बगाउनु भन्दा स्वदेशमै केही गर्छु भन्ने सोच पलाएपछि स्वदेश फर्किएको उहाँको भनाई छ ।

विदेशमा गर्ने श्रम र पसिना भन्दा स्वदेशमै अटो चलाउन निकै सहज भएको पुनले बताउनुभयो । उहाँले भन्नु भयो ‘महिनामा ३० देखि ३५ हजारसम्म कमाई हुन्छ । विदेशमा पनि त्यस्तै आम्दानी हुने हो । विदेशमा पनि स्वदेश बराबरको आम्दानी हुन्छ भने किन विदेश किन जानुपर्‍यो ?!’

अटोको कमाइले मिनालाई खाइबस्नेको दुःखले घेर्न छाडेको छ । अटो किन्दाको केही किस्ता मात्र चुक्ता गर्न बाँकी छ ।

आफ्नो काम प्रति खुशी हुँदै उहाँले अरू महिलाहरूलाई पनि समाजले के भन्ला भनेर नबस्न आग्रह गर्नुभयो ।

विगतमा श्रीनगर खलंगामा रुटमा अटो धेरै हुँदा यात्रु नपाउने समस्या र अहिले इन्धनको मूल्य बढ्दा समस्या भने रहेको उहाँको भनाई छ । अहिले अटोको सङ्ख्यामा कमी आए पनि इन्धनको मूल्य अधिक हुँदा कहिलेकाहीँ खर्च उठाउन पनि मुस्किल हुने पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘समाज भनेको नै तपाई हामी हो । समाजले के भन्छ भन्दा पनि समाजलाई कस्तो बनाउने भन्ने हात सबैको हुने भएकाले समाजको डर होइन समाज रूपान्तरणमा हामी सबै लाग्नुपर्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button