राजनीतिमा हुने प्रतिशोधले पार्टी र देशलाई नै क्षति गर्छ : नेता कोइराला
भक्तपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काण्डै–काण्डले देशलाई विग्रहतर्फ धकेलेको बताउनुभएको छ ।
आज भक्तपुरको कौशलटारमा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले आयोजना गरेको प्रदेश सम्मेलनमा उहाँले देशमा पछिल्लो पटक आएको सुन काण्डले त्यसअघिका सबै काण्डहरूलाई बिर्साइदिए झैँ भएको बताउनुभयो ।

सुन काण्ड हुनुभन्दा १० दिनअघि मात्रै प्रधानमन्त्रीको सचिवालयबाट नवराज ढुङ्गानालाई राजस्व विभागको प्रमुख बनाउनुको रहस्य खोज्नुपर्ने भन्दै उहाँले नेपालबाट हरेक दिन कति सुन तस्करी भइरहेको भन्ने विषयमा खोजी गर्नुपर्ने बताउनुभयो ।
नेता कोइरालाले राजनीतिमा हुने प्रतिशोधले व्यक्ति मात्रै नभई पार्टी र देशलाई नै क्षति गर्ने बताउनुभयो ।
नेता कोइरालाले भन्नुभयो, “सुन काण्डका बारेमा नेपाली काँग्रेसकै एक सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभयो, त्यसैको आधारमा उहाँमाथि प्रतिशोध साँध्ने काम भयो, उहाँका गल्ती कमजोरीहरू छन् होला, त्यस्तो छ भने त्यसको छानबिन गरि कारबाही हुनुपर्छ तर प्रतिशोध साध्ने काम भयो भने त्यसले देशलाई कहाँ पुर्याउँछ ? यो गम्भीर विषय हो ।”
उहाँले राजनीतिमा प्रतिशोधको भावना सुरु भए राजनीति राजनीति नै नरहने र त्यसले व्यक्ति, दल र देशलाई क्षति पुर्याउने उहाँको भनाइ थियो ।
कार्यक्रममा काँग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति एवं प्रतिनिधि सभा सांसद दुर्लभ थापा, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री लगायतले सम्मेलनको सफलताको कामना गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्