भौतिक पूर्वाधार र सरसफाइले चिटिक्क देखियो कालीपुल बसपार्क (फोटोफिचर)

म्याग्दी । म्याग्दी सदरमुकाम बेनी स्थित कालीपुल बसपार्क पछिल्लो समय सरसफाई र भौतिक पूर्वाधारले व्यवस्थित र चिटिक्क बन्दै गएको छ ।
अव्यवस्थित संरचना हटाएर आवश्यक संरचना निर्माणसँगै सरसफाई गर्ने कर्मचारी राखेपछि कालीपुल बसपार्क सफा र व्यवस्थित बन्न थालेको हो । देशका विभिन्न ठाउँबाट सवारीसाधन आवतजावत गर्ने कालीपुल बसपार्क व्यवस्थित र सफा देखिँदै गएपछि बसपार्कका स्थानीयवासी, व्यवसायी, यात्रु, यातायात व्यवसायी र सवारी चालक खुशी भएका छन् ।
विसं २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन आएको थियो । गत वर्षसम्म बर्खामा हिलो र हिउँदमा धुलोले अस्तव्यस्त र अव्यवस्थित संरचना र जथाभावी फोहोरले बसपार्क अस्तव्यस्त थियो । बसपार्कमा निर्माण भएको एक तले अपाङ्गमैत्री टर्मिनल भवनमा टिकट काउन्टर, शौचालय र यात्रु प्रतीक्षालय सञ्चालनमा ल्याइएको छ । भवन परिसरमा सवारीसाधन पार्किङस्थल आरसिसी ढलान र सडक कालोपत्रे गरिएको छ ।

पहिले भन्दा स्वरूप फेरिएर व्यवस्थित, पूर्वाधारमैत्री र सफा बनेपछि सहज भएको १५ वर्षदेखि ट्याक्सी चलाउँदै आउनुभएका लक्ष्मण थापाले बताउनुभयो । “अहिले यसको स्वरूप फेरिएर प्रविधिमैत्री र व्यवस्थित बन्दै गएपछि यात्रुलाई सहज भएको छ, यात्रुलाई एउटै भवनबाट गन्तव्य पुग्ने सवारी साधनको टिकट लिन सहज भएको छ”,– थापाले भन्नुभयो ।
विगत १५ वर्षदेखि विभिन्न सवारीसाधन चलाउँदै आउनुभएका अर्का चालक रञ्जित पुनले ढलानसहितको व्यवस्थित पार्किङ, दिनदिनै सरसफाई, व्यवस्थित टिकट काउन्टरले यात्रु र यातायात व्यवसायीलाई सहज र बसपार्क पनि विगत भन्दा सफा र राम्रो देखिएको बताउनुभयो ।
पहिले जथाभाबी रुपमा टहरा निर्माण गरेर बसपार्क क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन, जथाभाबी पार्किङ, अव्यवस्थित टिकट काउण्टर, शौचालय अभावले यात्रुलाई सास्तीहुँदै गएपछि बसपार्कमा पूर्वाधार निर्माणका लागि गुरुयोजना निर्माण गरिएको थियो । गुरुयोजना अनुसार अनावश्यक संरचना हटाएर आवश्यक पूर्वाधार निर्माणले बसपार्कको मुहार फेरिएको बसपार्क व्यवस्थापन समितिका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

देशका विभिन्न सहरमा छुट्ने सवारी साधनको टिकट एकै ठाउँबाट पाइने भएपछि यात्रु र यातायात व्यवसायीलाई पनि सहज भएको कोरला यातायात प्रालिका कर्मचारी एलिन केसीले बताउनुभयो । बसपार्कमा सवारीसाधनले नियमअनुसार पार्किङ गरेका छन् वा छैनन् भन्ने विषयमा निगरानीका लागि सिसि क्यामरा जडान गरिएको कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष कर्माचार्यले जानकारी दिनुभयो । बसपार्कलाई रातको समयमा उज्यालो बनाउनका लागि बत्ती जडान गरिएको छ । पूर्वाधार निर्माणसँगै बसपार्कमा पार्किङलाई व्यवस्थित, सरसफाई र शुल्क उठाउनका लागि सातजना कर्मचारी खटाइएको छ ।

पहिले भन्दा व्यवस्थित सफा देखिदा यात्रुहरूले पनि जथाभाबी फोहोर नफालेको बसपार्कमा पार्किङ शुल्क उठाउने कर्मचारी तारा पुनले बताउनुभयो । “बसपार्कमा पार्किङ शुल्कका रुपमा बस, टिप्पर, ट्रक र ट्याक्टरका लागि दिनको ५० रुपैयाँ र रातको १५० शुल्क छ भने ट्याक्सी जिपलाई दिनको २५ र रातको पार्किङ शुल्क ५० रुपैयाँ उठाउने गरिएको छ ।”
“कालीपुल बसपार्क क्षेत्र म्याग्दी र मुस्ताङको प्रवेशद्वार समेत रहेकाले यस क्षेत्र स्वच्छ र सफाहुँदा यस क्षेत्रमा आउने पर्यटकहरूमा सकारात्मक सन्देश दिएको छ।” अध्यक्ष कर्माचार्यले भन्नुभयो ।‘‘टर्मिनल भवनको आम्दानी नगरपालिकामा जान्छ, बसपार्क पार्किङ शुल्कको रकम बेनी नगरपालिका र बालमन्दिर विद्यालयलाई ४०/४० प्रतिशत र २० प्रतिशत बसपार्क व्यवस्थापन समितिलाई हुने छ।”
विसं २०७४ मा नगरपालिकाले रु २१ करोड लागत अनुमानमा बसपार्कको गुरुयोजना तयार पारेको थियो । गुरुयोजना अनुसार बसपार्कमा नगरपालिका, प्रदेश र संघीय सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माण गर्ने लगायतका पूर्वाधार निर्माण भइरहेको छ ।

पार्किङ शुल्कमहंगो भएको गुनासो
बसपार्कमा पार्किङ बापत उठाउने शुल्क महँगो भएको गुनासो यातायात व्यवसायीले गरेका छन् । टिकट काउन्टरमा भाडामा लिएर सञ्चालन गरेपछि दिनदिनै उठाउने पाकिङशुल्क महँगो भएको ट्याक्सी चालक लक्ष्मण थापाले बताउनुभयो । कालीपुल बसपार्कबाट स्थायी रुपमा छुट्ने सवारीसाधनलाई दिन र रातको दुवै शुल्क उठाउन नहुने उहाँले भन्नुभयो । मासिक रुपमा थोरै शुल्क लगाउन मिल्छ तर कहिल्यै दुई,तीन दिन यात्रु नपाएर पार्किङ गरिराख्नुपर्ने हुन्छ । यस्तो समयमा पनि शुल्क दिन र रातको उठाउनु गलत हुने सवारी चालकहरूले गुनासो गरेका छन्।
साना सवारीसाधनलाई दिनमा रु. २५ र रातमा रु.५० शुल्क र ठुला सवारीसाधनलाई दिनमा रु ५० र रातमा रु १५० रुपैयाँ लिने गरिएको छ । रात र दिनको दुवै शुल्क लिनु गलत भएको अर्का सवारी चालक रञ्जित पुनले बताउनुभयो । बसपार्क व्यवस्थित रुपमा सञ्चालन गर्दा ट्याक्सी र जीप चालकलाई असर नपर्ने गरी पार्किङ स्थल परिमार्जित गर्नुपर्ने ट्याक्सी तथा जीप चालकको गुनासो छ ।








प्रतिक्रिया राख्नुहोस्