तपाईँ सुन्दै हुनुहुन्छः

गाउँमा बिजुली पुगेपछि स्थानीयवासी उत्साहित

मुगु । मुगु जिल्लाको उत्तर पश्चिममा अवस्थित दुर्गम सोरुगाउँपालिका वडा नं १ जवलधारा गाउँमा बिजुली पुगेपछि स्थानीय बासिन्दाहरू उत्साहित भएका छन् । 

वर्षौँ देखि झराको दियालो बाल्दै आएका स्थानीयवासीहरु गुल्मघाट जलविद्युत आयोजनाको निर्माणको काम सम्पन्न भई घरघरमा बिजुली बल्न थालेपछि जवलधारा बासीहरू उत्साहित बनेका हुन् । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रु ४ करोड लगानीमा ३८ किलोवाट बिद्युत् उत्पादन भएपछि गाउँ नै झिलिमिली भएको स्थानीय बासिन्दाले बताएका छन् ।  हाल सम्म बिद्युत् बिस्तार हुन नसकेको उक्त गाउँका ९७ घरमा बिजुली बत्ती पुगेको छ ।  कर्णाली प्रदेशका पूर्व कृषि मन्त्री चन्द्रबहादुर शाहीको पहल र स्थानीय अगुवाहरूको सक्रियतामा गाउँमा बिजुली बलेको बिद्युत् निर्माण समितिका अध्यक्ष कमानसिंह मल्लले बताउनुभयो ।

गाउँ नजिकै कुनै पानीको श्रोत नभएपछि  ५ किलोमिटर टाढा  हुम्ला कर्णाली नदीको पानी नहर बनाएर गुल्म जिउला सम्म ल्याई बिद्युत् उत्पादन गरिएको हो । उत्पादित बिद्युत् गहताडी गाउँका २२ घरमा पनि पुगेको छ । 

जोगी वाडाका २७, नचारा गाउँका ५६, नार्थपु गाउँका ६४, धुपी गाउँका १०, र जडेपानीका ४२ घरमा बिद्युत् बिस्तारको काम भइराखेको बताइएको छ  । गाउँमा बिजुली पुगेपछि साना स्कुले बाल बच्चा लगायत प्राय जसो रातीको समयमा काम गर्ने महिलाहरू लाई सहज भएको बताइएको छ भने वर्षौँको सल्लोको झरो बाल्ने झन्झट हटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button