तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा छोटी भन्सार पुनःस्थापना हुन नसक्दा राजश्व सङ्कलनको लक्ष्य प्रभावित

नेपालगञ्ज। बाँकेमा छोटी भन्सार कार्यालयहरू पुनःस्थापना हुन नसक्दा राजश्व सङ्कलनमा अपेक्षित प्रगति हुन सकेको छैन । विगतमा छोटी भन्सार कार्यालयहरू रहेका विभिन्न नाकाहरू अहिले तस्करीको केन्द्र बनेका छन् । जसका कारण राजश्व सङ्कलनमा अपेक्षित लक्ष्य हासिल हुन नसकेको हो ।

नेपाल–भारत मुख्य नाकामा रहेको नेपालगञ्ज भन्सार कार्यालयले गत केही वर्ष यता राजश्व सङ्कलनको लक्ष्य भेटाउन सकेको छैन । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार केही वर्ष यता हरेक वर्ष निर्धारण गरिएको लक्ष्य भन्दा कम राजश्व सङ्कलन भइरहेको छ । राजश्व सङ्कलन घट्नुको एक प्रमुख कारण सशस्त्र द्वन्दका बेला बन्द गरिएका छोटी भन्सार कार्यालयहरू अझै पुनःस्थापना नहुनु पनि रहेको बताइएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत डिल्लुप्रसाद शर्माका अनुसार बाँकेको सुइया बगौडास्थित कटकुइँया, नरैनापुर, भगवानपुर, खडैंचा होलिया, हिरमिनियाको भंघोटना, साईगाउँ र साइगाउँ पश्चिमतर्फको उढरापुर नाकामा छोटी भन्सार कार्यालयहरू थिए । तर, लामो समयदेखि ती सबै छोटी भन्सार कार्यालय बन्द छन् । नरैनापुर, खडैंचा, साईगाउँमा रहेका छोटी भन्सार कार्यालय भवन अहिले भत्किएर काम नलाग्ने अवस्थामा पुगेको भन्सार कार्यालयले जनाएको छ ।

विभिन्न ग्रामीण क्षेत्रको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनःस्थापना नगरिँदा भारतसँग सीमा जोडिएका ग्रामीण क्षेत्रबाट खुलेआम तस्करी हुने गरेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत शर्माका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य भन्दा १२ प्रतिशत कम राजश्व सङ्कलन हुँदा आर्थिक वर्ष २०७९/०८० मा ३८ प्रतिशत कम राजश्व सङ्कलन भएको छ । उहाँले राजस्व सङ्कलनको लक्ष्य पूरा नहुनुमा धेरै कारणहरू रहे पनि एक प्रमुख कारण छोटी भन्सार नहुनु वा ग्रामीण क्षेत्रबाट राजश्व छलेर सामान भित्रिनु पनि रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button