तपाईँ सुन्दै हुनुहुन्छः

फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिनु आवश्यक : मन्त्री मोदी

ललितपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिन आवश्यक भएको बताउनुभएको छ ।

फोहरमैला व्यवस्थापनसम्बन्धी कानूनको अन्तिम मस्यौदा तयारीका लागि आज ललितपुरमा आयोजित छलफल तथा अन्तर्क्रिया कार्यक्रममा उहाँले फोहरबाट मोहर निकाल्ने, यसलाई पुनः प्रयोगमा ल्याएर बहुउपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले फोहरमैला व्यवस्थापनमा प्रभावकारी कानून निर्माणका लागि मन्त्रालयले मस्यौदा तयारीको काम अन्तिम चरणमा पुर्‍याएकाले मौजुदा कानुनमा उचित सुझाव दिन समेत आग्रह गर्नुभयो । सबैका सुझावलाई समेटेर नै कानून निर्माण गर्ने आफ्नो र मन्त्रालयको सोच रहेको उहाँको भनाइ थियो ।

सङ्घीय मामिला मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले फोहरमैला व्यवस्थापनका विषयमा सङ्घीय ऐनमा नपरेका कुरा प्रदेश र स्थानीय तहले कानून बनाएर सम्बोधन गर्नसक्ने बताउनुभयो ।

प्रधानमन्त्रीका सरसफाइ विज्ञ खेम शर्माले पालिका र पालिकाअन्तर्गतका निकायको सरसफाइको गुणस्तरमा वृद्धि गर्दै सरसफाइमा आधुनिक सामान र उचित रसायन अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने, सुरक्षासहितको पोसाक प्रयोग गर्नुपर्ने, सरसफाइ अडिट गर्ने व्यवस्था मिलाउनुपर्ने धारणा राख्नुभएको थियो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले ऐन बनाउँदा वर्तमान मात्रै नभई भविष्यलाई पनि हेरेर कार्यान्वयन गर्न सजिलो हुने गरी बनाउनुपर्ने बताउनुभयो । उहाँले इलेक्ट्रोनिक फोहर व्यवस्थापनका कुरा, दिसाजन्य फोहर व्यवस्थापन र प्रशोधनका कुरालाई विकल्पसहित कानून ल्याइनुपर्नेमा जोड दिनुभयो ।

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उपत्यकाको सन्दर्भमा सबै नगरपालिकामा आफैँले फोहरमैला व्यवस्थापन गर्न मिल्ने गरी स्थान नभएकाले मन्त्रालयले व्यवस्थापन गरिदिनु आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button