वार्षिकोत्सवको अवसरमा विद्युत् प्राधिकरणद्वारा वृक्षारोपण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ३८औँ वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयमार्फत आज वृक्षारोपण गरेको छ । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शक्तिबहादुर बस्नेतले केन्द्र परिसरमा नास्पातीको बिरुवा रोपी वृक्षरोपणको सुरुवात गर्नुभएको थियो ।
सो अवसरमा मन्त्रालयका सचिव एवम् प्राधिकरण सञ्चालक समितिका सदस्य दिनेश कुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कर्मचारीहरूले पनि वृक्षारोपण गर्नुभयो । नास्पातीको पकेट क्षेत्रको रुपमा रहेका फर्पिङमा अधिकांश बिरुवा रोपिएका छन् ।
कार्यक्रममा मन्त्री बस्नेतले वृक्षारोपण गरिएका बिरुवाको संरक्षण सबैभन्दा महत्पूर्ण भएकाले त्यतातर्फ विशेष ध्यान दिन निर्देशन दिनुभयो । मन्त्रालयका सचिव घिमिरेले वृक्षारोपण गरिएका बिरुवालाई त्यतिकै नछाडेर हेरचाह र संरक्षण गर्न आग्रह गर्नुभयो । कार्यकारी निर्देशक घिसिङले आगामी वर्षबाट जलविद्युत् आयोजनाहरूको जलाधार क्षेत्रमा वृक्षारोपण गरिने बताउनुभयो ।
प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरू, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरू, सबस्टेसन कार्यालयहरू, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादन गृहहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानहरूमा वृक्षारोपण गरेका हुन् ।
कार्यालयहरूले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरूपका एक लाखभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवाहरू रोपेका छन् ।
जलविद्युत, प्रसारण र वितरणतर्फका आयोजना निर्माण गर्दा रुख काट्ने मात्र होइन रुख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षारोपण गर्दै आएको छ । प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षारोपण गर्ने स्थान नभएका काठमाडौँ उपत्यकाभित्रका कार्यालयमा कार्यरत कर्मचारीहरूले नेपालको पहिलो तथा ऐतिहासिक फर्पिङ जलविद्युत् केन्द्र परिसरमा बिरुवा रोपेका छन् । रासस







प्रतिक्रिया राख्नुहोस्