तपाईँ सुन्दै हुनुहुन्छः

‘१६ औँ पञ्चवर्षीय योजना सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित हुने’

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले आगामी १६ औँ पञ्चवर्षीय योजना सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित हुने बताउनुभएको छ । 

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकमा आयोगका उपाध्यक्ष डा.श्रेष्ठले  राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्नु १६ औँ पञ्चवर्षीय योजनाको मूल लक्ष्य रहेको बताउनुभयो ।

स्वास्थ्य शिक्षा रोजगारी र आवास लगायतका क्षेत्रमा सामाजिक न्याय स्थापित गर्नु, सामाजिक जीवन, आर्थिक विकास र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्ने उद्देश्यका साथ योजना निर्माणको काम भइरहेको जानकारी गराउनुहुँदै उपाध्यक्ष डा.श्रेष्ठले १५ औँ पञ्चवर्षीय योजनामा भौतिक पूर्वाधारमा ध्यान दिँदा विकासको मोडल असन्तुलित भएको बताउनुभयो । 

१४ औँ पञ्चवर्षीय योजनाको तुलनामा १५ औँ योजना कार्यान्वयनमा समस्या देखिएकाले त्यसको समीक्षा गरी आगामी पञ्चवर्षीय योजना तयार गरिने उपाध्यक्ष डा.श्रेष्ठले जानकारी दिनुभयो ।  

बैठकमा सांसदहरुले समन्यायिक विकास हुने गरी पञ्चवर्षीय योजना बनाइनुपर्ने, मुलुकको विकासका लागि दलीय सहमतिमा विकासको मोडल निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । 

पहुँचका आधारमा मठमन्दिर र गुम्बा निर्माणमा बजेट खर्च गरिँदा शिक्षा, स्वास्थ्य र रोजगारीमा बजेट अपुग हुने गरेको विचार व्यक्त गर्नुहुँदै सांसदहरुले जनताले राहत पाउने गरी योजना बनाइनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button