तपाईँ सुन्दै हुनुहुन्छः

कोइरालाको योगदान कहिले बिर्सन सकिँदैन : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नोना कोइराला स्मृति प्रतिष्ठानका संरक्षक डा शेखर कोइरालाले नेपालमा प्रजातन्त्र प्राप्तका लागि नोना कोइरालाले पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहने बताउनुभएको छ ।

विराटनगरमा आज आयोजित प्रतिष्ठानको साधारण सभाको उद्घाटन गर्नुहुँदै उहाँले राष्ट्र, राष्ट्रियता प्रजातन्त्र स्थापनाका लागि नोना कोइरालाको योगदान कहिल्यै बिर्सन नसकिने उल्लेख गर्नुभयो ।

नेपालको राजनीतिमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्दछ भन्ने पहिलो महिला नोना कोइराला रहेको उहाँले बताउनुभयो । पञ्चायत कालमा पनि नोना कोइरालाले प्रजातन्त्र स्थापना र सामाजिक न्यायका लागि साहसिक कार्य गरेको भन्नुहुँदै कोइरालाले सबैलाई मिलाएर लैजाने क्षमता नोना कोइरालामा रहेको बताउनुभयो ।

संस्थाले समाजका लागि उल्लेखनीय कार्य गरे पनि उजागर गर्न नसकिएको उल्लेख गर्दै उहाँले अब नयाँ ढङ्गबाट अघि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विराटनगर महानगर पालिकाका प्रमुख नागेश कोइरालाले प्रजातन्त्र स्थापनका लागि महिलाहरूलाई जागृत र गोलबद्ध बनाउने कार्य नोना कोइरालाले गर्नुभएका कारण नेपालमा प्रजातन्त्रको स्थापना भएको उल्लेख गर्नुभयो ।

संस्थाका अध्यक्ष डा नारायण कुमारको अध्यक्षता कार्यक्रम भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button