राष्ट्रिय सभा बैठक : ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ टेबुल
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबुल भएको छ ।
सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाले पारित गरी सन्देशसहित प्रतिनिधि सभामा पठाएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबुल गर्नु भएको छ ।
उक्त विधेयक टेबुल गर्नुपूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अनुचुति लेनदेन सम्बन्धी पीडितको आवाज सम्बोधन गर्न सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा ल्याएको भएपनि प्रतिनिधि सभामा केही विशेष अप्ठेरो परेका कारण समयमा पास हुन नसकेको बताउनु भयो ।
मन्त्री गुरुङले अनुचित लेनदेनको विषयलाई छिटो र द्रुततर रुपमा गर्ने मनसायका साथ राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा गएको विधेयक प्रतिनिधि सभामा केही अप्ठेरो परिस्थितिका कारण समयमा पास हुन नसकेकाले साधारण विधेयकका रुपमा फेरी राष्ट्रिय सभामा पठाइएको बताउनुभयो ।
मन्त्री गुरुङले प्रतिस्थापन विधेयकलाई विशेष कारणले प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा पुन साधारण विधेयकका रुपमा पठाउनु परेकोमा माफी माग्दै विधेयकको रूप फेरिएर पनि सार नफेरिएको स्पष्ट पार्नुभयो ।
सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ६० दिन भित्र पास गर्ने नियम भएपनि कानुनमन्त्रीको स्पाष्टोक्ति र विषय परिस्थितिका कारण यस्ता विषय आगामी दिनमा नजिरका रुपमा नरहने गरी विधेयक अगाडी बढाउन अनुमति दिएको बताउनुभयो ।
बैठकको सुरुमा राष्ट्रिय सभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले त्रिभुवन विमानस्थलबाट बरामद भएको एकसय सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठको समेत संलग्नता रहेको आरोप लगाउँदै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्नुभयो ।
उहाँले संसदीय छानबिन समिति बनाउने हो भने त्यसमा राष्ट्रिय सभाका सदस्यलाई पनि सामेल गर्नुपर्ने समेत बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्