तपाईँ सुन्दै हुनुहुन्छः

नवलपुरमा २६ अर्ब बढी राजश्व सङ्कलन

नवलपुर । आन्तरिक राजश्व कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले गत आर्थिक वर्षमा २६ अर्ब रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताउनुभयो ।

आर्थिक वर्ष २०७९/०८० मा आन्तरिक राजश्व कार्यालय नवलपुरलाई ३२ अर्ब १२ करोड ९३ लाख ६१ हजार राजश्व सङ्कलनको लक्ष्य प्रदान गरिएको थियो । उक्त लक्ष्यको आधारमा गत आर्थिक वर्षमा ८१ दशमलब ८९ प्रतिशत राजश्व सङ्कलन भएको प्रमुख कर अधिकृत पन्थीले बताउनुभयो ।

कुल लक्ष्यको ९६ प्रतिशत अन्तशुल्क तर्फ मात्रै राजश्व सङ्कलनको लक्ष्य राखिएको थियो । खपत बढ्ने लक्ष्य राखिएको भएपनि अर्थतन्त्रमा आएको संकुचनले गर्दा अन्तःशुल्कको सङ्कलनमा समेत कमी आउँदा लक्ष्य हासिलमा प्रभाव परेको प्रमुख कर अधिकृत पन्थीले बताउनुभयो ।

आन्तरिक राजश्व कार्यालय नवलपुरले सबैभन्दा बढी अन्तशुल्क तर्फ २५ अर्ब १६ करोड ९१ लाख १६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा आय कर तर्फ ६३ करोड ९८ लाख ५५ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर ३८ करोड २५ लाख ६५ हजार रुपैयाँ , व्याज ६ करोड १३ लाख ७३ हजार रुपैयाँ, स्वास्थ्य सेवा तर्फ ४ करोड ३० लाख २० हजार रुपैयाँ, घर बहाल कर तर्फ १ करोड ५३ लाख ४४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताउनुभयो ।

लक्ष्य अनुसार राजश्व सङ्कलनमा केही कम देखिए पनि देशैभरका राजश्व कार्यालयको तुलनामा आन्तरिक राजश्व कार्यालय नवलपुरको अवस्था राम्रो रहेको प्रमुख कर अधिकृत पन्थीले बताउनुभयो ।

प्रमुख कर अधिकृत पन्थीका अनुसार आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गत आर्थिक वर्षमा बढी राजश्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/०७९मा २४ अर्ब ११ करोड, १२ लाख १ हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो । यस भन्दा गत आर्थिक वर्षमा २ अर्ब २० करोड ७२ हजार रुपैयाँ राजश्व बढी सङ्कलन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button