तपाईँ सुन्दै हुनुहुन्छः

कुवापानीको पहिरोले पाँच बस्ती जोखिममा

म्याग्दी I म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ कुवापानीको पहाडबाट खसेको पहिरोले पाँच वटा बस्ती जोखिममा परेको छ ।

पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि सयौँ रोपनी खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवार विस्थापित भएका छन् ।

पाँच वटा बस्तीका एक सय भन्दा बढी घर जोखिममा परेका छन् । असार ११ गते राती कुवापानीको चिहानडाडा (सेतोपहाड)बाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढेको हो ।

मुलघडेरीका पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिरोका कारण विस्थापित भएका हुन् । उनिहरु पूर्णगाउँको नवजागरण आमा समूहको भवनमा आश्रय लिएर बसेका छन् ।

पहिरोले जलजला– २ को मुलघडेरी, पूर्णगाउँ, नेपाने, टमिलाखर्क, गौरेटो हुँदै कालीगण्डकी किनारमा रहेको म्याग्दीको गलेश्वर सम्म जोखिम बनाएको छ । मुलघडेरीमा करिब ७० रोपनी खेत र बारी पहिरोको लेदोले पुरिएर क्षति पुगेको छ । लेदोले पुरिएपछि यसपालि धान र कोदो रोपाई पाएका छैनन् । खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको छ ।

पहिरो र जोखिममा परेका ठाउँका तीन चरणमा स्थलगत अध्ययन गरी थप क्षति हुन नदिन सतर्कता अपनाइएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button