काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक : उपसभापति र महामन्त्रीहरूद्वारा धारणा व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको आज बसेको छैटौँ दिनको बैठकमा पार्टीका उपसभापति, महामन्त्री र बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्नुभएको छ ।
आजको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी सरकारका उपप्रधानमन्त्री एवं पार्टी उपसभापति पूर्णबहादुर खड्का र अर्का उपसभापति एवं मन्त्री धनराज गुरुङ तथा मन्त्री सीता गुरुङले आ–आफ्नो मन्त्रालय अन्तर्गत भए गरेका काम कारबाहीबारे धारणा राख्नुभएको छ ।
आजको बैठकमा आफ्नो धारणा राख्नुहुँदै पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले बैठकमा सहभागीहरूबाट आएका सुझाव र भनाइलाई सकारात्मक रुपमा लिएर त्यस अनुरुप अबका दिनमा गर्नुपर्ने कुरा ठम्याएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

उपसभापति खड्काले पार्टीको फेसबुक मार्फत पार्टी बैठकको प्रत्यक्ष प्रसारण गरिएकोबाट देश विदेशमा रहेका सबैले हेर्न र सुन्न पाएको भन्दै यसलाई आगामी दिनमा निरन्तरता दिने विषयमा सुझाव पठाउन पनि सम्बोधनका क्रममा आग्रह गर्नुभयो ।
यस्तै बैठकमा पार्टीका अर्का उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उच्च तहमा बसेका सबै नेताहरूको सम्पत्ति छानविन होस् र भ्रष्टाचारको सवालमा सबै पक्ष निर्मम तरिकाले प्रस्तुत होउन् भन्ने जनचाहना रहेकाले त्यस अनुरुप अगाडी बढ्नु जरुरी भएको बताउनुभयो ।
उपसभापति गुरुङले पार्टीका नेता तथा कार्यकर्ताले कर्म र व्यवहारलाई बदल्ने हो भने काँग्रेस बदलिने भएकाले त्यस अनुरूपको व्यवहार अनुसरण गर्दै सबै अगाडी बढ्नुपर्नेमा पनि जोड दिनुभयो ।
बैठकमा पार्टीका महामन्त्री गगन कुमार थापाले युवाहरूको चाहना अनुसार संसदीय दलको नेता बदल्नका लागि आफू लागिरहेको र सकेमा बदल्ने बताउनुभयो ।
महामन्त्री थापाले आफूले पार्टी फुटाउने कुरा नभई दलको नेता फेर्ने कुरा मात्र गर्दै आएको बैठकमा बोल्दै बताउनुभयो ।
महामन्त्री थापाले पार्टी र नेतृत्वले तल्लो तहका जनताको कुरा सुन्नुपर्ने र कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा परिवर्तन आवश्यक रहेको भन्दै बदलिएको काँग्रेस र बलियो काँग्रेस बनाउने तर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।
महामन्त्री शर्माले काँग्रेस लोकतन्त्रमा विश्वासमा राख्ने पार्टी भएकाले आलोचना हुनु स्वभाविक भएको उल्लेख गर्दै कमी कमजोरीहरूलाई सच्याएर जानुको विकल्प नरहेको पनि बताउनुभयो ।
बैठकमा केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले किसानको समस्या समाधानका लागि पार्टीले पहल गर्नुपर्ने र कार्ययोजना बनाएर अगाडी बढ्नुपर्ने, नेपाली श्रमिकहरूको बारेमा सम्बोधन गर्ने गरी पार्टीले कार्ययोजना बनाउनुपर्ने बताउनुभयो ।
केन्द्रिय सदस्य राजीव कोइरालाले जनताको मन जित्ने गरी पार्टी र सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै आजको बैठकमा बोल्नुहुँदै शहरी विकास मन्त्री सीता गुरुङले आर्थिक व्यवस्थापनको समस्याका बाबजुद आफ्नो मन्त्रालयले शहरी विकास नीतिको कार्यान्वयन र सुरक्षित नागरिक आवास जस्ता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
यसअघि पार्टीको हिजोको बैठकमा पनि पार्टीका तर्फबाट सरकारमा सहभागी विभिन्न पाँच जना मन्त्रीले आ–आफ्नो मन्त्रालय अन्तर्गत भए गरेका काम कारबाहीबारे धारणा राख्नुभएको थियो ।
पार्टी केन्द्रिय समितिको अर्को बैठक साउन १० गते बुधबार दिनको ४ बजे बस्नेछ ।







प्रतिक्रिया राख्नुहोस्