‘आर्थिक समृद्धिका लागि बाह्य सहयोग महत्त्वपूर्ण हुन्छ’
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि बाह्य सहयोग महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

अवैतनिक वाणिज्य दूतहरूको सङ्गठन अनररी कन्सुलर कर्पस् नेपालको १६ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै उहाँले देशको आर्थिक विकासमा बाह्य सहायता जुटाउन सङ्घका पदाधिकारीहरूलाई आह्वान गर्नुभयो ।
मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो ।
चार्टर डे २०२३ को समेत उद्घाटन गर्दै उपराष्ट्रपति यादवले कन्सुलरले नेपालको दौत्य सम्बन्ध रहेका तर आवासीय दूतावास नभएका ५९ देशको प्रतिनिधित्व गर्दै ती देश र नेपालबीच आर्थिक, व्यापारिक र सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
कन्सुलर १७ औँ वर्षमा प्रवेश गरेको सुखद् उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले संस्थाले नेपालमा लगानी व्यापार र पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्दै आएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले संस्थाले नेपालको प्रतिष्ठालाई उच्च बनाउन र नेपाल तथा मित्र राष्ट्रका आम जनताबीचको सामिप्यता अभिवृद्धि गर्दै दौत्य सम्बन्धलाई थप मजबुद बनाउने कार्यमा अझै सबल रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले विकासमा दुई पक्षीय सम्बन्ध भएका देशहरूबाट नेपाललाई आर्थिक विकासमा सक्रिय हुन आह्वान गर्नुभयो । नेपालको पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा सहयोग जुटाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूतहरू, विभिन्न देशका महावाणिज्य दूत तथा वाणिज्य दूतहरू र परराष्ट्र मन्त्रालयका कर्मचारीहरूको उपस्थिति थियो ।
तस्वीर : गोरखापत्र अनलाइन








प्रतिक्रिया राख्नुहोस्