होमबहादुर–प्रेमकुमारी श्रेष्ठ ट्रष्ट शुभारम्भ
काठमाडौं । सामाजिक काम गर्ने उद्देश्यले होमबहादुर–प्रेमकुमारी श्रेष्ठ ट्रष्टको शुभारम्भ गरिएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले ट्रष्टको शुभारम्भ गर्नुभएको हो ।
होमबहादुर–प्रेमकुमारी श्रेष्ठका छोरा, छोरी, नाति, नातिनालगायत परिवारले यो संस्थाको स्थापना गर्नुभएको कार्यक्रममा जानकारी दिइएको छ ।
कार्यक्रममा इटहरी नगर क्षेत्रमा क्रियाशील भई काम गरिरहेको मायाको घर नामक संस्थालाई सम्मानसमेत गरिएको थियो । मायाको घर नामक संस्थाले सयौँ बेसहारालाई आश्रय दिएकाले ५० हजार ५० राशिको पुरस्कारसहित सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपसभामुख रानाले सेवाको भावना जागृत गराउन मायाको घरजस्ता संस्थाले गरेका काम उदाहरणीय रहेको बताउनुभयो । ट्रष्ट पनि सेवामूलक भावनाले स्थापना भएकाले यसका गतिविधि पनि समाजमा नमूना हुनेमा उहाँले जोड दिनुभएको थियो ।
कार्यक्रममा राष्ट्रगानका रचयिता व्याकुल माइला, ट्रष्टका अध्यक्ष बुद्धिनारायण श्रेष्ठ, ट्रष्टका संस्थापक शिवजी श्रेष्ठ, संस्थापक सदस्य अखण्ड भण्डारी, ट्रष्टकी सदस्य लक्ष्मी पोखरेल, सदस्यसचिव गणेश बाम्बुले राई, पुरस्कृत संस्थाकी अध्यक्ष शुभद्रा प्याकुरेल लगायतले समाजसेवाको मुख्य उद्देश्य नै अरूको उपकार भएकाले त्यसै अनुरुप काम गर्ने संस्थालाई समाजमा हेर्ने दृष्टिकोण फरक हुनुपर्नेमा जोड दिनुभएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्