उत्कृष्ट किसान पुरस्कृत

रुकुम पश्चिम । रुकुम पश्चिमका २ सहकारी र १३ जना उत्कृष्ट किसानलाई पुरस्कृत भएका छन् । कृषि तथा पशुको क्षेत्रमा उत्कृष्ट काम गर्ने किसानहरू छनौट गरेर पुरस्कार सहित सम्मान गरिएको हो । मुसिकोटमा कृषि विकास कार्यालयले ८ जना र पशु अस्पताल तथा पशु सेवा कार्यालयले ७ जना उत्कृष्ट किसानहरू छनौट गरेर नगद सहित पुरस्कृत गरिएको हो ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख ज्ञानु कुमार शर्माका अनुसार पुरस्कृत तथा सम्मानित हुनेहरूमा बाख्रा पालक किसानतर्फ आठविसकोट नगरपालिका १२ का इकर्के पुन, भैसीपालक किसानतर्फ मुसिकोट नगरपालिका ४ का राजु ओली र बंगुलपालनतर्फ मुसिकोट नगरपालिका ४ का लुमा खड्का बुढामगर रहेका छन् ।
त्यसैगरी घाँस विकास तर्फ मुसिकोट नगरपालिका ४ का पल बहादुर खड्का, माछापालन तर्फ आठविकासकोट नगरपालिका ७ का तिलक बुढा, विशिष्ट जातको कालिज पालनतर्फ चौरजहारी नगरपालिका ४ का धिरज भण्डारी र सहकारी तर्फ मुसिकोट नगरपालिका ४ स्थित सिद्धार्थ सहकारी संस्थालाई सम्मान गरिएको हो ।
पुरस्कृत तथा सम्मानित हुनेहरू मध्य सहकारीका रिमा खड्कालाई नगर बीस हजार पुरस्कार, प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरिएको हो भने अन्य ६ जनालाई नगद दश हजार पुरस्कार सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो ।







प्रतिक्रिया राख्नुहोस्