वीरगंज महानगरले चर्को विरोधका बाबजुद मुख्य नालाको अवरोध हटायो

वीरगंज । वीरगंज महानगरपालिकाले चर्को विरोधका बाबजुद वीरगंजको मुख्य नालालाई अवरोध गर्ने गरी निर्माण गरिएको आदर्शनगर स्थित क्लासिक होटल र कर्पोरेट डेभलपमेन्ट बैङ्क रहेको भवन र हरि खेतान क्याम्पसको भवनलाई तोडेको छ ।
क्याम्पस, होटल र बैंकका भवनहरू तोडिएसँगै अब वीरगंजको मुख्य नालाको बहावलाई नरोक्ने गरी निर्माण गर्ने कार्यमा महानगरपालिका जुटेको छ । वीरगञ्ज महानगरपालिकाले पर्साको जिल्ला हुलाक कार्यालयदेखि मुख्य नाला सफाइ गर्ने अभियान अन्तरगत उक्त नालाको ४० फिट भित्र बनेका सम्पूर्ण संरचना हटाउँदै आएको छ ।
तत्कालीन बीरगंज नगर पञ्चायतको पालमा पशुपति आदर्श निर्माण समिति मार्फत डाक बढाबढ अनुसार खरिद गरेर मालपोत कर तिर्दै भोगचलन गर्दै आएको क्लासिक होटलका जग्गाधनी सफाकत अलिले दाबी गरे पनि उनको दाबी नालामाथि जग्गा किन्नु नै गलत सावित भएको छ ।
वीरगञ्जको मुख्य नाला व्यवस्थित गर्ने अभियानमा महानगर जुटेको बताउँदै नगर प्रमुख राजेशमान सिंहले सार्वजनिक नाला, कुलो र सडक बिक्री वितरण नहुने र कसैले बेचबिखन गरेको भए विक्री गर्ने र खरिद गर्ने व्यक्तिलाई समेत कारबाही हुने चेतावनी दिनुभयो ।

वीरगंज महानगरपालिकाले मालपोत ऐन २०३४ दफा २४ र मुलुकी संहिता २०७४ मा सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता वा आबाद गर्न गराउन हुँदैन भन्ने स्पष्ट रहेको आधार र मालपोत ऐन, २०३४ को दफा २४ र मुलुकी देवानी संहिता, २०७४ को दफा ३०५ को अनुसार यो दफा प्रारम्भ हुनु अघि र पछि सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरि आबाद गरेकोमा त्यस्तो दर्ता स्वतः बदर हुनेछ भन्ने कानूनी आधारलाई महानगरले लिएर नाला अतिक्रमण गरी बनाइएको क्याम्पस, बैङ्क र होटल तोडफोड गरिएको नगर प्रमुख सिंहले बताउनु भयो ।
देवानी संहिता २०७४ को ३०५ कै (३) मा सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति व्यक्ति विशेषको नाममा दर्ता गरे गराएको सम्बन्धमा कसैको उजुरी परेमा सम्बन्धित मालपोत कार्यालयले त्यस सम्बन्धमा दर्तावाला समेतलाई झिकाई आवश्यक जाँचबुझ गरी उजुरी परेको छ महिनाभित्र आवश्यक निर्णय गर्नु पर्नेछ भन्ने उल्लेख गरिएको छ ।
त्यस्तै आवश्यकता र सार्वजनिक विश्वासको सिद्धान्त तथा स्थानीय शासन सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) क १ को ‘ट’ मा नगरपालिकाको काम कर्तव्य र अधिकार भन्दै नालामाथिको भवन भत्काइएको छ ।
वर्षायाममा वर्षाै देखि डुबान खेप्दै आएको वीरगंजलाई मुक्ति दिन नाला अतिक्रमण हटाएर पानीको बहावलाई सिर्सिया नदीमा पुर्याउने अभियानमा महानगर जुटेको र यो अभियानमा सम्पूर्ण नगरवासीको साथ र सहयोग आफूलाई प्राप्त भई रहेको बताउँदै नगर प्रमुख सिंहले वीरगञ्जको परिचय बदल्ने गरी भइरहेको काममा जनस्तरको सहयोग र समर्थन रहेको दाबी गर्नु भयो ।







प्रतिक्रिया राख्नुहोस्