‘पत्रकारिता जगतलाई राज्यको सशक्त चौथो अङ्गको रुपमा विकसित गर्नुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पत्रकारिता जगतलाई राज्यको सशक्त चौथो अङ्गको रुपमा विकसित गर्नुपर्ने बताउनुभएको छ ।

रेडियो नेपालमा आज आयोजित नेपाल प्रेस युनियन (रेडियो नेपाल ) शाखाको पाँचौँ अधिवेशनमा सहमहामन्त्री पाण्डेले प्रेस जगतलाई चौथौँ अङ्गका रुपमा सशक्त बनाउन राज्यले पर्याप्त स्रोत साधनको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।
सहमहामन्त्री पाण्डेले लोकतन्त्रको सुदृढीकरणमा सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारी सञ्चार माध्यमलाई स्वतन्त्र र स्वायत्त निकायका रुपमा विकसित गर्नुपर्ने धारणा राख्नुभयो ।
सहमहामन्त्री पाण्डेले रेडियो नेपाल दुरदराजसम्म सुनिने एक मात्र जनताको विश्वसनीय सञ्चार माध्यम भए पनि यसको व्यावसायिक रुपान्तरणको खाँचो औँल्याउनुभयो ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले श्रमजीवी पत्रकारहरूको हकहितका लागि नेपाल प्रेस युनियन सधैँ अग्रपङक्तीमा उभिएको भन्दै कुनै पनि बहानामा श्रमजीवीलाई सेवा सुविधाबाट बञ्चित गर्न नहुने बताउनुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले मुलुकभर रेडियो नेपालको प्रसारण पहुँच पुर्याउन समावेशी कार्यक्रम उत्पादन र प्रसारणलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक केसीले रेडियो नेपाल सार्वजनिक सञ्चार माध्यम भएकाले यसको उद्देश्य नाफा कमाउनु मात्र नभई विपद्को समयमा नागरिकलाई सुसुचित गराउनु पनि भएको बताउनुभयो ।
रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले संस्थाको काम कारबाहीलाई प्रभावकारी बनाउन सबै कर्मचारी कटिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेल, रेडियो नेपाल पत्रकार महासङ्घका अध्यक्ष विप्रमणि आचार्य, नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, पब्लिक मिडिया फोरमका अध्यक्ष दुर्गा फुयाँल, नेपाल प्रेस युनियन प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल लगायतले धारणा राख्नुभएको थियो ।


अधिवेशनले प्रवीण पोखरेलको नेतृत्वमा ९ सदस्यीय कार्य समिति चयन गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्