सहकारी पीडितको समस्या समाधान गर्न माग
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितको समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको शून्य समयमा उहाँले बचतकर्ताको रकम फिर्ता गराउनका लागि सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद थापाले भन्नुभयो, “केही दिनअघिसम्म हामी सांसदका घरमा सहकारी पीडितहरूको रुवावासी चल्थ्यो, घरघरमा रुवाबासी गरेर भएन भनेर उनीहरू अहिले मण्डलामा आएर सुनाउन लागिरहेका छन्, उनीहरूको आवाज राज्यले सुन्नैपर्छ किनकि उनीहरूको जे अवस्था भएको छ, यसको जिम्मेवार केही हदसम्म राज्य पनि हो ।”
सांसद अच्युतप्रसाद मैनालीले भन्नुभयो, “अहिले मानो रोपेर मुरी फलाउने समय हो तर अहिले इतिहासमै नभएको सुक्खा याम छ, जमिनको सतहभन्दा धेरै तल पानी पुगेको छ, सिँचाइका लागि मात्र होइन, पिउने पानी पनि पाउन समस्या छ ।” उहाँले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना तदारुकताका साथ निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसदहरू अजयकुमार चौरसिया, अमरबहादुर थापा, अर्जुननरसिंह केसी, आस्माकुमारी चौधरी, असिम शाह, ईश्वरबहादुर रिजाल, अनिशा नेपाली, अशोककुमार चौधरी, ईश्वरी घर्ती, उर्मिला माझी, कालुराम राई, किरणकुमार शाह, कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, गोमा सापकोटा, गङ्गा कार्की, चित्रबहादुर केसी लगायतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्