पानी परेसँगै पर्सामा धान रोपाई भ्याईनभ्याई

वीरगंज । मङ्गलवार पानी परेसँगै पर्सामा धान रोपाई गर्न किसानलाई भ्याईनभ्याई भएको छ ।
पर्याप्त मनसुनी वर्षा नहुँदा पर्सामा असारको अन्तिम साता समेत धान रोपाई गर्न नपाउँदा प्रभावित भएका किसानहरू पानी परेसँगै धान रोप्न व्यस्त भएका छन् ।
कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसादले मङ्गलवार पानी परेसँगै किसानहरू धान रोप्न व्यस्त भएको र आज सम्म पर्सामा २० प्रतिशत मात्रै रोपाई हुन सकेको बताउनु भयो । पर्सा जिल्लामा अझै ४० हजार ५ सय ४० हेक्टरमा रोपाइँ नै प्रभावित भएको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेश प्रसाद चौरसियाले बताउनु भयो ।
पर्सामा गत वर्ष ४७ हजार १ सय १० हेक्टरमा धान खेती भएकोमा यस वर्ष हालसम्म ७ हजार हेक्टरमा मात्र रोपाइँ भएको छ । असार सकिन लाग्दा पनि पानी नपरेपछि पीडित भएका किसानहरू मङ्गलवार दिउँसो र राति पानी परेसँगै खेत रोपाइँमा व्यस्त भएको चौरसियाले बताउनु भयो । मङ्गलवार लामो अन्तरालपछि वर्षा भएको थियो ।
पर्सा जिल्लामा हालसम्म रोपाइँ गरेकाहरूले पनि बोरिङ, गण्डक नहर र कुलोको पानीबाट गरेका छन् । मनसुनी वर्षा ढिलो गरी भएमा जिल्लामा यस वर्ष रोपाइँ कम हुनुको साथै धान उत्पादन घट्न आशङ्का कृषि विज्ञहरूले गरेका छन् ।
कृषि ज्ञान केन्द्रकै तथ्याङ्क अनुसार, गत वर्ष पर्सा जिल्लामा ४७ हजार १ सय ३० हेक्टर जग्गामा प्रतिहेक्टर ४ दशमलव ७ मेट्रिक टनका दरले २ लाख २१ हजार ६ सय २७ टन धान उत्पादन भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्