तपाईँ सुन्दै हुनुहुन्छः

न्यायाधीशहरूको चाँडै पदपूर्ति हुने : प्रधानन्यायाधीश कार्की

विराटनगर । प्रधानन्यायाधीश हरीकृष्ण कार्कीले रिक्त रहेका न्यायाधीशहरूको चाँडै पदपूर्ति हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रधानन्यायाधीश कार्कीले निर्वाचन र सरकार गठनका कारण न्यायाधीश नियुक्तिमा केही ढिलाइ भएको बताउनुभयो । न्यायाधीश नियुक्ति गर्ने धेरै कानुनी मान्यता पुरा गर्नुपर्ने भएकाले पनि नियुक्तिमा केही ढिलाइ भएको उहाँको भनाई थियो । 

उहाँले छिटो छरितो एवं समयमै न्याय सम्पादनका लागि पनि न्यायाधीशको नियुक्ति आवश्यक रहेको बताउनुभयो । उहाँले रिक्त रहेका न्यायाधीशहरूका नियुक्ति एक महिना भित्र गर्ने गरि कानुनी व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । 

प्रधानन्यायाधीश कार्कीले न्यायाधीशहरूको नियुक्तिका विषयमा छलफल भइरहेको उल्लेख गर्नुहुँदै न्यायाधीशको नियुक्ति निष्पक्ष र पारदर्शी हुने भन्नुहुँदै न्यायाधीश नियुक्तिका लागि विभिन्न प्रकारका मुल्याकंन पद्धतिका विषयमा छलफल गरेर मात्र न्यायाधीश नियुक्ति हुने कानुनी व्यवस्था  भएकाले पनि यस विषयमा विभिन्न चरण छलफल भइरहेको बताउनुभयो । 

प्रधानन्यायाधीश कार्कीले न्याय सम्पादन निष्पक्ष बनाउन गोला प्रणाली लागु गरेको भन्नुहुँदै यसले निष्पक्ष न्याय सम्पादनमा सहयोग पुगेको बताउनुभयो । उहाँले न्यायालयप्रति जनविश्वास बढाउने गरि आफूले काम गरिरहेको बताउनुभयो ।  विभिन्न कार्ययोजना बनाएर लागु गरेकाले पनि अदालतहरूबाट छिटोछरितो रुपमा न्याय सम्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । 

उहाँले जिल्ला अदालत तथा उच्च र सर्वोच्च अदालतले कुनै पनि मुद्दाको फर्च्छाैट चाँडै गर्ने गरि व्यवस्था मिलाइएकाले पनि न्यायालयप्रति जनविश्वास बढेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button