बेपत्ता छोरीको खोजी गरिदिन बाबुआमाको गुहार
नेपालगन्ज । बाँके होलियाका नारायण कुर्मी दम्पतीले आफ्नी १९ वर्षीया छोरी रेश्मालाई आफन्त र गाउँका अगुवाले मिलेर बेपत्ता बनाएको आरोप लगाउनुभएको छ ।

नारायणकी श्रीमती सिपुरीले गत वैशाख २ गतेदेखि छोरीलाई बेपत्ता बनाएको बताउनुभयो । नेपालगञ्जमा आज पत्रकार सम्मेलन गर्दै नारायण दम्पतीले आफ्नो छोरीलाई खोजेर ल्याइदिन आग्रह गर्नुभएको छ । आमा सिपुरीका अनुसार छोरी रेश्माको तीन वर्षअघि नेपालगन्ज–१३ गङ्गापुरमा विवाह भएको थियो । श्रीमानको मृत्यु भएपछि रेश्मा माइती घरमा आएर बस्नुभएको थियो । माइतीमा बसेकी छोरीलाई आफन्त पर्ने केतिया, आरती, पवन र दिनेश कुर्मीले फकाएर भारतमा लगेर विवाह गरिदिएको सिपुरीले बताउनुभयो ।
नारायण दम्पतीका अनुसार उनीहरूले रेश्मालाई भारत बहराइच जिल्ला अजकवा गाउँका इन्द्रजित कुर्मीको छोरासँग विवाह गरिदिएका छन् । तर, छोरी ज्वाइँसँग भेट्न नपाएको उहाँहरूको भनाई छ । आमा सिपुरीले भन्नुभयो ‘छोरीको विवाह गरिदिएको भन्ने सुनेको छु । विवाह गरिदिएका हुन् कि बेचिदिएका हुन्, थाहा छैन । मेरो छोरी मलाई चाहियो ।’
रेश्मालाई इन्द्रजितका छोरासँग विवाह गर्नका लागि एमाले नेता एवम् लुम्बिनी प्रदेशका पूर्व मन्त्री विजय यादवले पनि सहयोग गरेको नारायण दम्पतीको आरोप छ । रेश्माको विवाह खर्च भनेर दिनेशमार्फत आएको ६० हजार भारतीय रुपैयाँ विजयले बुझेको उहाँहरूले बताउनुभयो । नारायण दम्पती छोरी फिर्ताका लागि कानुनी प्रक्रियामा जाने तयारीमा हुनुहुन्छ । कानुनी प्रक्रियामा जान खोज्दा यादवले रोक्दै आएको उहाँहरूको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्